२३ बैशाख २०८१, आईतवार

 

कालिगण्डकी माथि बनेको विश्वकै लामो झोलुङ्गे पुलको उद्घाटन

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुलको ओैपचारिक रूपमा उद्घाटन गरिएको छ ।

ठेकेदार कम्पनीले जिम्मा लिएको काम समयमै सम्पन्न नगरिकन अलपत्र पारिरहेको उदाहरणकाबीच बागलुङ पर्वत जोड्ने झोलुङ्गेपुल भने समयसिमाभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएको बेला आन्तरिक तथा बाह्य पर्यटक तान्नको लागि बागलुङसदरमुकाममा निर्माण गरिएको विश्वकै लामो झोलुङ्गेपुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवावारि जोड्ने ५६७ मिटर लामो विश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माणकार्य सम्पन्न भएको झण्डै ११ महिनापछि औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रकिृयाबाट निर्माणको जिम्मेवारी थानी/विएलटी/हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको मिति भन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले बताए ।

पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ ।पुलको आयु ५० वर्षको भए पनि यसलाई व्यवस्थापन गर्न सकिएन भने छिटो विग्रनेमा स्थानीयको चिन्ता छ ।

५६७ मिटर लामो सिंगल स्पानको विश्व कै सबैभन्दा लामो झोलुङ्गेपुल ठेकेदार कम्पनीले सम्झौता मिति भन्दा एक बर्ष अगाडि नै सम्पन्न गरेपनि कोरोना भाइरस कोभिड १९ का कारण पुल हस्तान्तरण र उद्घाटनको काम भने रोकिएको थियो ।

यसअघि स्विजरल्याण्डमा सिंगल स्पानको ४९४ मिटर लामो झोलुङ्गेपुल विश्व कै सबैभन्दा लामो मानिन्थ्यो सस्पेन्सन ब्रिज डिभिजन प्रमुख कुमार थापाले बताए ।

अहिले पर्वत बागलुङ जोड्ने विश्व कै लामो झोलुङ्गेपुल पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण भएको हुँदा यसले धेरै पर्यटक तान्ने कुश्मा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष देबेन्द्र सुवेदीले बताए ।

पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेको कुश्मा नगरपालिकालगायतका जनताका लागि सहज रूपमा पुहुँच पुग्नेछ ।कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि निर्माण भएकाले पर्यटकीय दृष्टिले यसको महत्व झन बढेर गएको मात्र छैन दैनिक रूपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक समेत तान्न सफल हुने निश्चित छ ।

कार्यक्रम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पुर्वाधार कार्यालय ललितपुरको आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रममागण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव नारायण अर्याल, पूर्वाधार विकास विभागका मानिर्देशक इश्वरचन्द्र मराठ्ठा, लुम्बीनी गार्डेन फाउण्डेशनका गोविन्द श्रेष्ठ, संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, निर्वातमान संघीय सांसद डा सूर्य पाठक, नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती दिपेन्द्र बहादुर थापा र बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलको अध्यक्षता कुस्मा नगरपालिका–१ वडाअध्यक्ष देबेन्द्र सुवेदीको स्वागत तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्