७ जेष्ठ २०८१, सोमबार

 

नागरिक एप डाउनलोड गर्नेको संख्या १ लाख ३० हजार नाघ्यो, कत्तिकाे छ सुरक्षित ?

सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । सार्वजनिक भएको ४८ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख ३० हजार नाघेको हो ।

शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या आइतबार बिहान मात्र  १ लाख ३० हजारबढी कटेको थियो ।

यससँगै ४८ घण्टामै सबैभन्दा धेरै डाउनलोड हुने नेपाली एपहरुमा नागरिक एप पहिलो बनेको छ । टप फ्री एपमध्ये नेपालमा यो एप शीर्ष स्थानमा छ ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण सम्बन्धित निकायको सिस्टममा रहेको विवरणसँग मेल नखाएको तथा अर्कैको नाममा रहेको सिमकार्ड प्रयोग गरेका कारण धेरैजसोको विवरण प्रमाणीकरण सफल नभएको बताइएको छ ।

परीक्षणको क्रममा रहेको एपमा उक्त संख्यामा रजिस्टर हुनु आफैमा ठूलो विषय भएको बताइएको छ । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक एप ल्याएको हो ।

हाल यो एपमा स्थायी लेखा नम्बर (प्यान) लिन सकिने सुविधा मात्र उपलब्ध छ । अन्य सेवा क्रमशः थप गर्दै लैजाने योजना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उल्लेख गरिसकेका छन् ।

एपमा खाता खोल्न प्रयोगकर्तासँग आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । एपमा राखेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड राखेर प्रमाणीकरण गराइसकेपछि नागरिकता, राहदानी वा मतदाता परिचयपत्रको विवरण एपमा राख्नुपर्ने हुन्छ ।

सम्बन्धित सरकारी निकायमा रहेको विवरण र प्रयोगकर्ताले राखेको विवरण जस्ताको त्यस्तै रुपमा मिलेको खण्डमा मात्र यो एपमा विवरण सफलतापूर्वक प्रमाणीकरण हुने गर्छ ।

यस्तोमा यदि सरकारी निकायमा रहेको विवरण र प्रयोगकर्ताको परिचयपत्र (नागरिकता, राहदानी वा मतदाता परिचयपत्र) मा रहेको विवरण केही गरी फरक परेको खण्डमा प्रमाणीकरण सफल हुन सक्दैन ।

अर्कोतर्फ विभिन्न सरकारी निकायका छुट्टा छुट्टै सिस्टममा रियल टाइम (तत्कालकै समयमा) सोझै पहुँच बनाएर यो एपले काम गर्दछ ।

सकारसँग भएका नागरिकका सबै डिजिटल विवरणहरु सिंहदरबारभित्र रहेको राष्ट्रिय सूचना प्रविधि कन्द्रको डेटा सेन्टरमा राखिएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलका अनुसार तीन वटा पक्षबाट स्वतन्त्र रुपमा नागरिक एपको सुरक्षा परीक्षण गराइएको छ ।

एप निर्माण टोलीको दाबी अनुसार नेपालमा अहिलेसम्म सबैभन्दा धेरै सेक्युरिटी टेस्टिङ गराइएको सरकारी एप पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्