२५ बैशाख २०८१, मंगलवार

 

बागलुङबाट सुनचाँदी व्यवसायी महासंघमा निर्वाचित दुई केन्द्रीय सदस्यलाई नयाँ विश्वको सम्मान

सुनचाँदी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सहयोग चाहिने नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य सुदेशचन्द्र राजभण्डारीले बताएका छन् ।

नयाँ विश्व डटकमले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले सरकारले कोरोनाका कारण लगाएको कोटा प्रणाली हटाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका अर्का केन्द्रीय सदस्य मनकाजी विश्वकर्माले सुनचाँदी कारोबारलाई पारदर्शी बनाउनका लागि बजारको मागअनुसार आपूर्ति गर्न सरकारले सहज वातावरण बनाउनुपर्ने बताए ।

हालै सम्पन्न महासंघको अधिवेशनबाट निर्वाचित दुवै केन्द्रीय सदस्यलाई बधाई दिँदै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले, ‘बागलुङ जिल्लाले दुई जना केन्द्रीय सदस्य पाउनु ठूलो सफलता हो, सुनचाँदी व्यवसायको क्षेत्रमा हामीले पनि सक्दो योगदान गर्नुपर्छ ।’

कोरोनाले सुस्ताएको आर्थिक बजारलाई चलायमान् बनाउन सबैले प्रयत्न गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठले बताए ।

नयाँ विश्व डटकमका सेयर सदस्यसमेत रहेका सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वयलाई बधाई र कार्यकाल सफलताको कामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो ।

दुवै केन्द्रीय सदस्यले सुनचाँदी व्यापारलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने नयाँ विश्व डटकमका उपाध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । कार्यक्रमको सञ्चालन सचिव मुकेश राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्