५ जेष्ठ २०८१, शनिबार

 

स्टिभ जब्सले बनाएको सुरुवाती कम्प्युटर कति मूल्यमा हुँदैछ लिलामी ?

जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्री लिलामीमा राखिन्छन् तब त्यस्ता वस्तु खरिद गर्न हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ ।

एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै १५ लाख अमेरिकी डलरमा बिक्रीमा राखिएको हो । अनलाइन सपिङ साइट इबेमा उक्त एप्पल वान कम्प्युटर बिक्रीमा राखिएको हो ।

इबेमा राखिएको उक्त कम्प्युटरको विवरणमा लेखिएको छ, ‘यो निकै दुर्लभ अवसर हो । किनकि अहिले विश्वमा काठको खोलमा राखिएका एप्पल वानका उक्त कम्प्युटर केवल ६ वटा मात्र बाँकी छन् । तीमध्ये अधिकांश त म्युजियममै रहेका छन् । साथै यो कम्प्युटर चालू हालतमा छ ।

साथै वर्षौंदेखि यसलाई धूलो तथा खिया लाग्नबाट निकै उत्तम तरिकाले जोगाइएको छ ।’ ४५ वर्ष पहिले सन् १९७६ मा बनेको उक्त कम्प्युटर वास्तवमै दुर्लभ कम्प्युटर हो । यो कम्प्युटरसँगै स्केम्याटिक्स, बेसिक म्यानुअल, क्यासेट इन्टरेफेस तथा गाइड्सलगायत सामग्रीसमेत पाइनेछ । एप्पल वान कम्प्युटरमा बेसिक ल्यांग्वेज, गेम्स, लो एन्ड हाई मेमोरी टेस्टलगायत सफ्टवेयर छन् ।

यो एप्पल वान कम्प्युटर एप्पल कम्पनीले बेचेको सबैभन्दा पहिलो प्रडक्ट पनि हो । सन् १९७७ मा उत्पादन बन्द गरिएको एप्पल वान जम्मा २ सयवटा उत्पादन गरिएको थियो । त्यस समय एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो ।

प्रतिक्रिया दिनुहोस्