३ श्रावण २०८३, आईतवार

 

अबको तीन वर्षभित्र भारतबाट बिजुली ल्याउन नपर्ने, उल्टै निर्यात गरिने

नेपालबाट ढिलोमा आगामी ३ वर्षपछि भारतमा बिजुली निकासी हुने भएको छ । भारतीय लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली भारतमा निकासी हुने भएको हो । आयोजना सन् २०२२ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारीले गर्दा पछि धकेलिएको छ ।

सम्भवतस् ३ वर्षपछि विकासकर्ता एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले भारतमा बिजुली निकासी गर्ने जनाइएको छ । अरुण तेस्रोको ४० प्रतिशत निर्माण सकिएको छ । आयोजनाको बाँध बनाउने काम पनि सुरु भएको छ ।

यस्तै एसजेबीएन लिमिटेड भर्खरै ६७९ मेगावाटको तल्लो अरुण आयोजनामा छनोट भएको छ । भारतीय कम्पनी एसजेबीएनले दुवै आयोजनाहरूबाट उत्पादन हुने बिजुली भारतमा निकासी गर्नेछ । अरुण तेस्रो र तल्लो अरुणबाट भारतीय कम्पनी एसजेबीएनले १६ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ ।

यी दुई आयोजना सम्पन्न भएपछि एसजेबीएनले मात्रै १ हजार २४० मेगावाटभन्दा बढी बिजुली भारतमा निकासी गर्नेछ । सम्झौताअनुसार भारत सरकारको स्वामित्वका सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी अरुण ३ पावर डेभलपमेन्टले निर्माण गरिरहेको अरुण तेस्रोमा नेपाललाई २१।९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क दिएर बाँकी ७०३ मेगावाट भारतमा निकासी गर्नेछ ।

यस्तै तल्लो अरुण आयोजनाको हाल प्रस्ताव गरिएको जडित क्षमताअनुसार नेपाललाई १४२ मेगावाट बिजुली निःशुल्क दिएर भारतमा ५३७ मेगावाट निकासी हुनेछ ।

यो आयोजनाको जडित क्षमता बढ्ने सम्भावना छ । लगानी बोर्डले दुवै आयोजना भारत निकासी प्रयोजनका लागि निर्माण गर्न दिएको हो । एसजेबीएन गत साता मात्र तल्लो अरुण आयोजनामा छनौट भएको हो ।

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), आयोजना विकास सम्झौता (पीडीए), वित्तीय व्यवस्थापनलगायत धेरै प्रक्रिया बाँकी रहेकाले तल्लो अरुण आयोजना निर्माणको चरणमा पुग्न अझै केही वर्ष लाग्नेछ । यसै गरी भारतकै जीएमआर इनर्जी लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना बनाएमा ७९२ मेगावाट थप बिजुली भारतमा निर्यात हुनेछ । जीएमआरले १०८ मेगावाट निःशुल्क बिजुली दिने सम्झौता गरेको छ । जीएमआरले ५ सय मेगावाट बंगलादेशमा बेच्न सहमति गरेको छ ।

जीएमआर आर्थिक संकटमा परेकाले १ खर्ब ४० अर्ब रुपैयाँ लगानी जुटाउन सकेको छैन । यो आयोजनाको भविष्यअनिश्चित छ ।बिजुली निकासी सुरु भएपछि भारतसँगको व्यापार घाटा कम हुनेछ । झन्डै ७० प्रतिशत व्यापार भारतमा निर्भर छ । बिजुली निकासी हुन थालेपछि व्यापार घाटा कम हुने देखिएको हो ।

लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ४।१८ भारु अर्थात ६ रुपैयाँ ६८ पैसामा बिजुली किनिरहेको छ । अहिले विद्युत प्राधिकरणले भारतबाट ६ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ । २ वर्षपछि लगभग भारतबाट भइरहेको बिजुली आयात बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung