२७ श्रावण २०८३, बुधबार

 

२२ वर्षपछि ‘उत्तरगंगा हाइड्रो’ले पायो ८ सय २८ मेगावाटको उत्पादन अनुमतिपत्र

बागलुङ । दुई दशकभन्दा लामो समयदेखि चर्चामा रहेको बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको औपचारिक बाटो खुलेको छ।

सरकारले ८२८ मेगावाट क्षमताको आयोजनाका लागि उत्तरगंगा पावर कम्पनी लिमिटेडलाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।

विद्युत् विकास विभागको अनुमतिपत्र शाखाका इन्जिनियर दुर्गानारायण भुषालले साउन २० गते उत्तरगंगा पावर कम्पनीका नाममा उत्पादन अनुमतिपत्र जारी गर्नुभएको हो।

विद्युत् ऐन, २०४९ को दफा ४ ९२० तथा विद्युत् नियमावली, २०५० को नियम १७ बमोजिम मन्त्रालयको निर्णयअनुसार कम्पनीलाई ३५ वर्षका लागि अनुमतिपत्र दिइएको विभागका सूचना अधिकारी बद्री कुइकेलले जानकारी दिनुभयो।

उत्तरगंगा आयोजना निर्माणका लागि कम्पनीले २०७६ असार १७ गते विद्युत् विकास विभागमा अनुमतिका लागि आवेदन दिएको थियो। आवेदन दिएको करिब सात वर्षपछि उत्पादन अनुमतिपत्र प्राप्त भएको हो।

२०६१ सालदेखि चर्चामा रहेको यो आयोजना ढोरपाटन उपत्यकामा उत्तरगंगा नदीको पानी जम्मा गरी निसीखोलातर्फ फर्काएर विद्युत् उत्पादन गर्ने अवधारणामा अघि बढाइएको हो।

आयोजना निर्माण र पानीको उपयोगसम्बन्धी विषयमा लामो समयदेखि विवाद रहँदा यसको प्रगति रोकिएको थियो।

आयोजनाको पानी भेरी नदीतर्फ लैजाने वा निसीखोलातर्फ फर्काउने भन्ने विषयमा विवाद रहे पनि अन्ततः उत्तरगंगा नदीको पानी निसीखोलामा फर्काएर विद्युत् उत्पादन गर्ने संरचनालाई स्वीकृति दिइएको हो।

वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० प्रतिवेदनसमेत २०८० माघ २ गते स्वीकृत भइसकेको छ। ईआईएले पनि उत्तरगंगाको पानी निसीखोलातर्फ फर्काएर विद्युत् उत्पादन गर्ने निष्कर्ष निकालेको थियो।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडले विकास गरिरहेको यो आयोजना जलाशययुक्त तथा अन्तरजलाधार स्थानान्तरण परियोजना हो।

आयोजनामा उत्तरगंगा नदीमा करिब २०० मिटर अग्लो बाँध निर्माण गरी पानी जम्मा गरिनेछ। त्यसपछि करिब ६.५१ किलोमिटर लामो मुख्य सुरुङमार्फत पानी निसीखोलातर्फ लगेर विद्युत् उत्पादन गर्ने योजना छ।

आयोजनामा दुईवटा भूमिगत विद्युत्गृह निर्माण गरिनेछ। पहिलो विद्युतगृहमा १०५ मेगावाट क्षमताका चारवटा युनिट र दोस्रो विद्युत्गृहमा १०१ मेगावाट क्षमताका चारवटा युनिट रहने प्रस्ताव गरिएको छ।

आयोजनाबाट कुल ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। सम्भाव्यता अध्ययनअनुसार आयोजनामा ८ हजार ५१० मिटर लामो हेडरेस पाइप तथा १ हजार ८७५ मिटर लामो पेनस्टक पाइप निर्माण गरिनेछ।

ढोरपाटन उपत्यकामा पानी जम्मा गरी निसीखोलामा झारिने भएकाले वर्षायाम र हिउँदमा समेत तुलनात्मक रूपमा स्थिर विद्युत् उत्पादन गर्न सकिने आयोजनाको विशेषता रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा उत्तरगंगा जलाशययुक्त आयोजना, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी–५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

निर्माण सुरु भएको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको उत्तरगंगा आयोजना तुलनात्मक रूपमा कम लगानीमा ठूलो परिमाणमा विद्युत् उत्पादन गर्न सकिने परियोजनाका रूपमा अघि सारिएको हो।

अनुमतिपत्र प्राप्त भएसँगै लामो समयदेखि चर्चामा सीमित रहेको आयोजना अब निर्माणको चरणतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। विद्युत् विकास विभागले अनुमतिपत्र जारी गर्दा कम्पनीले रु. ५० लाख धरौटी रकम राजस्व खातामा जम्मा गरेको जनाएको छ।

विभागले आयोजनास्थल पर्ने ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकालाई समेत अनुमतिपत्रसम्बन्धी पत्राचार गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung