२२ श्रावण २०८३, शुक्रबार

 

बागलुङमा ग्यासको चरम अभाव, सडकबाटै सिलिण्डर बाँड्दै बिक्रेता

बागलुङ । बागलुङमा खाना पकाउने ग्यासको अभाव चुलिएपछि शुक्रबारदेखि सडकबाटै ग्यास वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा सोमबारदेखि ग्यासको आपूर्ति बढाइए पनि बजारमा अभाव कायमै रहेपछि ग्यास व्यवसायीले गोदाममा स्टक नराखी उपभोक्तालाई सडकबाटै सिलिण्डर वितरण गर्न थालेका हुन् ।

शुक्रबार बागलुङमा ९ सय सिलिण्डर ग्यास भित्रिएको छ । जसमध्ये ३ सय सिलिण्डर गलकोट, १ सय बलेवा र ५ सय सिलिण्डर बागलुङ बजारमा वितरण गरिएको छ । बागलुङ बजारमा भित्रिएको ५ सय सिलिण्डरमध्ये गृहलक्ष्मी ग्यास उपभोक्तालाई प्रत्यक्ष रूपमा वितरण गरिएको हो ।

पछिल्लो एक सातामा मात्रै बागलुङमा करिब २ हजार ६ सय सिलिण्डर ग्यास भित्रिए पनि बजारमा अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्र बनाएको छ । ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने आशंका बढेपछि डिलर तथा बिक्री केन्द्रमा निगरानी बढाइएको हो ।

ग्यासको बिक्री मूल्यभन्दा बढीमा बिक्री गरेको आरोपमा केही व्यवसायीमाथि प्रश्न उठेपछि व्यवसायीहरू गोदाममा ग्यास थुपारेर राख्दा थप विवाद हुने भन्दै सडकबाटै पारदर्शी रूपमा बिक्री गर्न थालेका छन् । उपभोक्ताले प्रत्यक्ष लाइनमा बसेर ग्यास खरिद गर्ने व्यवस्था मिलाइएको छ ।

सोमबारदेखि भरिएका सिलिण्डर ग्यास भित्रिन थालेपछि कालोबजारी, बढी मूल्य असुली तथा ग्यास लुकाउने गरेको गुनासो आएपछि प्रशासनले बजार अनुगमनमा कडाइ गरेको हो । डिपोले ग्यास स्टक राखेर अनुचित लाभ लिन सक्ने आशंकामा गोदाम तथा सम्भावित भण्डारणस्थलमा समेत अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

स्टक लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेजस्ता गुनासा बढेपछि सडकबाटै ग्यास वितरणको व्यवस्था गरिएको हो । यसले ग्यास वितरणमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्यास विक्रेता संघ बागलुङका सचिव राजु गौतमले पछिल्लो समय ग्यासको आपूर्ति नियमित भइरहेकाले केही दिनमै अभावको समस्या समाधान हुने बताउनुभयो । उहाँका अनुसार बागलुङमा पछिल्लो समय शक्ति, नेपाल ग्यास, गृहलक्ष्मी लगायतका करिब २ हजार ५ सयदेखि २ हजार ६ सय भरिएका सिलिण्डर भित्रिएका छन् ।

आपूर्ति बढे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्दै प्रशासनले वितरण प्रणालीमाथि निगरानी बढाएको छ । ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइने प्रशासनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung