बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा ९ग्रिन हाइड्रोजन० उत्पादन थालेको छ । गाउँपालिकाले खेर गइरहेको विद्युत र पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्न थालेको हो ।
ग्रिन हाइड्रोजन उत्पादनका लागि प्रक्रिया सफल भएर उत्पादनलाई शिलिण्डरमा भर्न थालिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनभुयो । परियोजना सफल भएर वडा नं–२ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शत प्रतिशत स्वच्छ ऊर्जा उत्पादन गर्न थालेको हो ।
नेपाल इनर्जी फाउण्डेसन, उर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एस एण्ड एओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विजरल्याण्ड साझेदार तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौं, बडिगाड गाउँपालिका र गिरीङ्दीखोला लघु जलविद्युत आयोजनाको सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरुको सहयोगमा खाना पकाउनका लागि हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।

उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर शुक्रबार गण्डकी प्रदेशका आर्थिक मालिमा मन्त्री जीत शेरचनले परियोजनाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि खेर गएको पानी तथा विद्युतलाई सदुपयोग गरी हाइड्रोजन उत्पादन गरेर शिलिण्डरमा भरिएको छ । विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रूपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग गर्ने प्रविधि अहिले सम्मकै नयाँ हो ।
स्वच्छ ऊर्जा मानिने ग्रिन हाइड्रोजनको उत्पादन गरी र प्रयोग बढाउन सके आयातित ग्यास विस्थापित गर्न सकिनेछ । अन्य ऊर्जाको तुलनामा सुरक्षित, वातावरणीय पर्यावरणलाई समेत असर नगर्ने हाइड्रोजन एलपी ग्यासको तुलनामा सस्तोसमेत हुने छ । उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्तालाई घरघरमा वितरण गर्नका लागि लागत अनुमान गर्न थालिएको छ ।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उहाँले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने जानकारी दिनुभयो ।













































































































































































































