६ जेष्ठ २०८१, आईतवार

 

इञ्जाको उत्कृष्ट साहित्यिक पुरस्कार ‘कोटेश्वरको केटो’लाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार सन् २०२० का लागि साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले छानिएको इञ्जाले जनाएको छ ।

पराजुलीका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरी पाँचवटा कथासंग्रह प्रकाशित भइसकेका छन् । उपन्यास ‘अनायिका’, कवितासंग्रह ‘भ्रष्ट संवेदना’ तथा संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ समेत गरी उनका आठवटा कृति प्रकाशित छन् ।

संस्थाको विज्ञप्तिमा उल्लेख भएअनुसार ‘कोटेश्वरको केटो’ आजभन्दा झन्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा पराजुलीले उनेका छन् ।

‘जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्