५ जेष्ठ २०८१, शनिबार

 

बुटिक र डिलक्सलाई पनि तारे होटलको मान्यता

सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि संकेत चिह्न निर्धारण गरेको हो ।

यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन ।

विभागले सबै स्तरका रिसोर्ट, तारे स्तरका होटल तथा सबै स्तरका बुटिक होटलका सम्बन्धमा संकेत चिह्नका रूपमा तारा चिह्न निर्धारण गरेको छ ।

होटल एसोसिएसन अफ नेपाल हान का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिए । उनले भने, ‘यो संसारभरको अभ्यास पनि हो ।

सरकारी मापदण्ड पालना गराउन सजिलो हुन्छ । होटलको स्तरीकरणका साथै सेवा सुदृढीकरणमा समेत सहयोग पुग्छ । हाम्रै हान को पहलमा विभागले होटलको स्तरचिह्न प्रदान गरेको हो ।’

विभागका अनुसार सबै तहका होटल तथा रिसोर्टले आफ्नो पहिचान दिने संकेत चिह्नअनुसारको साइनबोर्ड होटलको गेटमै राख्नुपर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन संघमा आबद्ध भएको हो, त्यसको समेत चिह्न बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरणअनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको संकेत चिह्न क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारे डिलक्स होटलका लागि पाँचतारा र डिलक्स शब्द राख्नुपर्नेछ ।

त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीनतारे हुनेछ । जसको संकेत चिह्नमा ‘तीन तारा र स्टान्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ ।

डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्ज हेरिटेज बुटिक’ शब्दले संकेत गरिने भएको छ । लक्जरी हेरिटेज बुटिक होटेलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राखिने भएको छ । रिसोर्टतर्फ साधारण रिसोर्टले तीनतारे स्तरको मान्यता पाएको छ ।

यस्तो रिसोर्टले तीनतारा र स्टान्डर्ड रिसोर्ट शब्द लेखेको संकेत चिह्न पाएको छ । डिलक्स रिसोर्टले चारतारा, लक्जरी रिसोर्टले पाँचतारा र लक्जरी रिसोर्ट शब्द राखेर आफ्नो रिसोर्टको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको संकेत चिह्न ‘टीएस’ हुनेछ ।

साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटेलको स्तर वर्गीकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गीकरण भएका सबै होटलले गोलाकारभित्र रातो रंगमा टीएस लेखेको चिह्नलाई होटलको संकेत चिह्नका रूपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ । मोटलका लागि विभागले ‘एम’ संकेत चिह्न दिएको छ ।

गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ लेखिएको चिह्न निर्धारण गरिएको छ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटलले यो चिह्न प्रयोग गर्नुपर्नेछ । ‘पर्यटक इन’ स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आई’ संकेत चिह्न प्रयोग गर्नुपर्नेछ ।

बेड एन्ड ब्रेक फास्टका रूपमा दर्ता भएका होटेलको संकेत चिह्न गोलाकार घेराभित्र रातो रंगमा ‘बीएन्डबी’ लेखिएको चिह्नलाई संकेत चिह्नका रूपमा निर्धारण गरिएको छ ।

सबै स्तरका रिसोर्ट, तारास्तरका होटेल, सबै स्तरका बुटिक होटेल र रिसोर्टले प्रवेशद्वारमा सबैले देख्ने गरी साइनबोर्ड राख्नुपर्ने विभागले जनाएको छ ।

साइनबोर्ड भने सम्बन्धित स्थानीय तहले तोकेको आकार र बनोटअनुसार छनोट गर्न सकिनेछ । यसरी रहने साइनबोर्डको समेत मापदण्ड तोकिएको छ । साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगीन निसान छाप राख्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्