१ जेष्ठ २०८२, बिहीबार

 

इरानले राष्ट्रसंघलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रको अनुगमन गर्न दिने

इरानले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिने भएको छ । यसका लागि इरान सहमत भएको संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले बताएका छन् ।

यद्यपि इरानले मंगलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीति परिवर्तन गरेको छ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्ध जारी नै रहेकाले इरानले यो कदम चालेको हो ।

आईएईएसँगको पछिल्लो सहमतिपछि अब तेहरान र वासिङटनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ । ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौताअनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।

इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले चाहिँ इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन् ।

इरानको परमाणु कार्यक्रम करिब २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ । इरानले आफ्नो परमाणु कार्यक्रमलाई शान्तिपूर्ण बताउँदै आएको छ । तर अमेरिका र अन्यले चाहिँ उसले गोप्य रूपमा आणविक हतियार बनाउन खोजिरहेको आरोप लगाइरहेका छन् । इरानले तय गरेको पछिल्लो कानुनअनुसार सरकारले आईएईएका निरीक्षणकर्ताहरूलाई छोटो सूचनामै घोषित वा अघोषित परमाणु केन्द्रहरूको अनुगमन गर्न रोक्नुपर्नेछ ।

इरानमा भएका वार्तापछि आईएईएका प्रमुख राफाएल ग्रोसीले तेहरानमा भने, ‘यो कानुन अस्तित्वमा छ । यो कानुन लागु हुन गइरहेको छ त्यो भनेको, मलाई पछुतो छ, एडिसनल प्रोटोकल निलम्बित भएको छ ।’ एडिसनल प्रोटोकलले आईएईएलाई कुनै देशले पहिले नै घोषणा गरेका वा नगरेका परमाणु केन्द्रहरूको आकस्मिक अनुगमन गर्न दिन्छ ।

सन् २०१५ को सम्झौताअनुसार इरान यस्तो अनुगमन गर्न दिन सहमत भएको थियो । त्यसअघि उसले सन् २००६ मा त्यसलाई निलम्बन गरेको थियो ।

गत वर्ष इरानले दुईवटा शंकास्पद क्षेत्रमा आईएईएका अनुगमनकर्तालाई जान रोकेको थियो । ग्रोसीले तीनमहिने सम्झौता अस्थायी भएको बताए । यद्यपि उनले स्थिर र दिगो अवस्था बनाउन राजनीतिक सम्झौता हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung