५ जेष्ठ २०८१, शनिबार

 

कोरोनापछि महँगिए ल्यापटप, एउटा ल्यापटपमा कतिसम्म बढ्यो मूल्य ?

कोरोना महामारीपछि सबै ब्रान्डका ल्यापटपको मूल्य बढेको छ । ल्यापटपको मूल्य १० हजार रूपैयाँसम्मले उकालिएको हो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष रञ्जित पोद्दारले उत्पादक देशमै ल्यापटपको मूल्य बढेकाले नेपालमा पनि बढेको बताए । उनका अनुसार ढुवानी भाडा पनि बढेको छ ।

नेपालमा अधिकांश ल्यापटप चीनबाट आयात हुन्छ। मलेसिया, सिंगापुरलगायतका देशबाट पनि आयात हुन्छ। ‘कोरोनापछि चीनमै ल्यापटपको मूल्य बढ्यो। योसँगै ढुवानी भाडासमेत बढ्दा एउटा ल्यापटपमा १० हजारसम्म मूल्य बढेको हो,’पोद्दारलेसँग भने । कोरोनाको असरले सिपिङ मूल्य पाँच गुनाभन्दा बढीले बढेको छ। जसका कारण पनि ल्यापटपको भाउ बढेको उनको जिकिर छ। कोरोना महामारीअघि ल्यापटप सिपिङको मूल्य प्रतिकेजी दुईदेखि साढे दुई अमेरिकी डलर पर्नेमा त्यसपछि बढेर १० देखि ११ डलर पुगेको पोद्दारले जानकारी दिए।

नेपाली बजारमा पाइने अधिकांश ब्रान्डका ल्यापटप हवाई मार्गबाटै ल्याइने गरेको छ। हवाई क्षेत्र पनि कोरोनाका कारण अस्तव्यस्त हुनुका साथै उडान संख्या न्यून बन्दा ल्यापटपको मागअनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको पोद्दारको भनाइ छ। ‘जसले ल्यापटप होल्ड गरेर बसेका थिए, नयाँ ल्यापटपहरू बजारमा आउन नसक्दा उनीहरूले मूल्य बढाएर बिक्री गर्दा पनि महँगो पर्न गएको हो,’ उनले भने ।

डेक्स्टप कम्प्युटरको माग भने ल्यापटपको जस्तो नभएकाले मूल्य अस्वाभाविक रूपमा नबढेको उनले बताए । डेक्स्टप कम्प्युटर स्थलमार्ग हुँदै नेपाल ल्याइने भएकाले गाडीबाट गरिने सिपिङ मूल्य पनि धेरै बढेको छैन ।

लकडाउन र निषेधाज्ञा खुकुलो भएपनि शैक्षिक, व्यवसायिक, सार्वजनिक समारोह इत्यादि क्रियाकलापहरू भर्चुअल्ली नै आयोजना भइरहेका छन्। भर्चुअल गतिविधिका लागि ल्यापटप अनिवार्य आवश्यकता बन्न पुग्यो। जसकारण ल्यापटपको माग बढेर आयात पनि ह्वात्तै उकालो लागेको देखिन्छ ।

पोहोरको तुलनामा चालू आवको सात महिनामा ल्यापटप आयात २४ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। चालू आवको सात महिनामा साढे ३९ अर्ब रूपैयाँबराबरका ७२ हजार पाँच सय ६८ थान ल्यापटप आयात भएको विभागले जनाएको छ। अघिल्लो आव २०७६–०७७ मा एक अर्ब ६४ करोड रूपैयाँबराबरको जम्मा तीन हजार थान मात्रै ल्यापटप भित्रिएको विभागको तथ्यांक छ। तर, अझै पनि ल्यापटपको माग र आपूर्तिबीच सन्तुलन कायम नभएकाले मूल्य बढेको व्यापारीहरूको भनाइ छ। ‘ल्यापटपको माग उच्च भए पनि आपूर्ति भने सहज रूपमा हुन सकेको छैन,’ पोद्दारले भने।

प्रतिक्रिया दिनुहोस्