कोरोना महामारीका कारण गत वर्षदेखि विद्यालय नगएका, अनलाइन कक्षा पनि पढ्न नसकेका र एकैचोटी यसपाली माघमा मात्र विद्यालय प्रवेश गरेका विद्यार्थीहरूलाई उपल्लो कक्षामा पढ्न र गृहकार्य गर्न निकै सकस भइरहेको छ ।
कोरोनाकालमा अनलाइन कक्षामा उपस्थित हुने तर शिक्षकले बोलाउँदा नबोल्ने, भिडियो तथा अडियो बन्द गरेर अरू नै बाहिरि विषयवस्तु हेरेर बस्ने बानी परेका कतिपय विद्यार्थीलाई मोबाइलको लत नै लागेको छ । यसका साथै मैले पढाउने विद्यालय खुलेपछि लिइएको दोस्रो त्रैमासिक परीक्षामा अरूबेलाको भन्दा धेरै विद्यार्थी फेल भएका छन् ।
हालै एक जना अभिभावक आफ्नो छोराको पढाइ तथा अन्य क्रियाकलाप बुझ्न विद्यालय आउनुभयो । उहाँको श्रीमान् विदेश जानुभएकाले आमाछोरा मात्रै घरमा हुनुहुँदोरहेछ । सात कक्षामा पढ्ने छोराले उहाँले भनेको नटेर्ने रहेछन् । अनलाइन कक्षा पढ्न थालेपछि उहाँले छोरालाई मोबाइल किनिदिनुभएको रहेछ । उहाँ भन्नुहुँँन्छ, ‘जतिखेरै त्यही मोबाइल हातमा हुन्छ, गृहकार्य गरिराखेको छु भन्दै छोरा कोठामा एक्लै बसिराख्छ तर के गर्छ मलाई थाहा छैन’ । एकैछिन पछि फेरि उहाँले थप्नुभयो, ‘गाली गर्न पनि एक्लो सन्तान माया लाग्छ, मुखले भनेको मान्दैन के गर्ने !’ ।
यो उहाँको मात्र समस्या होइन । पैसा कमाउन नेपालका अधिकांश बुबा वा आमा विदेश जाने गर्दछन् । बुबा विदेश हुँदा आमासँग मात्रै बसेर वा आमा विदेश हुँदा बुबासँग मात्रै बसेर पढ्ने विद्यार्थीहरूको संख्या धेरै छ । छोराछोरीको मायाका कारण पनि मोबाइल बाआमाले खोस्न सक्दैनन् ।
मैले धेरै विद्यार्थीहरुलाई किन गृहकार्य गर्दैनौं भनेर सोध्दा प्रायको उत्तर ‘अल्छी लागेर नगरेको’ हुन्थ्यो । यसो भन्नेहरूको आफ्नै छुट्टै मोबाइल छ । उत्सुक उमेरका विद्यार्थीले मोबाइल पाउँदा उनीहरू धेरै समय त्यसमै अल्मलिन्छन । पढाई त्यसै छुट्छ । विद्यार्थीहरूमाझ कोराना महामारीका कारण परेको यस्तो असरबारे कम चर्चा हुने गर्दछ । विद्यार्थी काँचो माटोजस्तै हुन् । उनीहरू जसरी हुर्किए त्यस्तै बन्न्ो गर्दछन् । त्यसका साथै अभिभावकहरुले आफ्ना छोराछोरीलाई मोबाइलबाट टाढा राखेर अन्य शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधिमा लगाउनुपर्दछ ।
शिक्षकहरूले विभिन्न परिवेशबाट आएका लगभग ४० विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु कम चुनौतीपूर्ण छैन । कसैले साथीलाई ‘बुलिङ’ गरिरहेका हुन्छन् त कसैले ‘डस्टर’ फुटाउने, भित्तामा कोर्ने, कक्षाबाट भाग्नेजस्ता क्रियाकलाप गरिरहेका हुन्छन् । कोही छिट्टै रिसाउने खालमा पनि हुन्छन् । यस्ता विद्यार्थीलाई यसो नगर, उसो नगर भन्दा उल्टो शिक्षकलाई नै झम्टिने पो हुन कि भन्ने डर हुन्छ ।
विद्यार्थीले शिक्षकलाई कोठामा बन्द गर्ने, अपशब्द बोल्ने लगायतका दुव्र्यवहार गर्ने गरेको पनि भेटिन्छ । कक्षामा पढाएको बेला होहल्ला गर्ने, कक्षाकार्य, गृहकार्य नगर्ने, घरमा बुबाआमाले भनेको पनि नमान्ने कतिपय विद्यार्थीलाई केही भन्यो भने ‘पिट्न, गाली गर्न पाइँदैन’ भन्ने गर्दछन् । उनीहरूलाई बाल अधिकारबारे पनि थाहा छ तर, आफ्नो कर्तव्य भने बिर्सिएका छन् ।
लामो समय घरमा बसेर भर्खरै विद्यालय जान थालेका विद्यार्थीहरूले नङ पाल्ने, ‘स्कुल ड्रेस’ लगाउन अप्ठेरो मान्ने, ‘आउट ड्रेस’ लगाउँदा खुसी हुनेजस्ता क्रियाकला देखाइरहेका छन् । कोरोनाकालमा घरभित्रै बन्दीजस्तै गरी जीवन बिताइरहेका विद्यार्थीहरू खुला वातावरणमा निस्कन पाउँदा खेल्नमै बढी समय दिने गर्दछन् । उनीहरूले पढ्नुपर्छ भन्ने बिर्सेजस्तो छ ।
विद्यालयमा विद्यार्थीहरूले विद्या आर्जन मात्रै गरिरहेका हुँदैनन्, योग, ध्यान र खेलकुदका माध्यमबाट आफूलाई तन्दुरुस्त, शान्त तथा स्वस्थ रहन पनि सिकिरहेका हुन्छन् । धेरै पैसा तिरेर नाम चलेका विद्यालयमा छोराछोरीलाई पढाएको छु भन्दैमा उनीहरूको सबै जिम्मा शिक्षकमाथि छाड्नुहुँदैन । विद्यालयपछि आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन्, कस्ता साथी बनाएका छन्, एक्लै कोठाभित्र मोबाइलमा के गरेर बस्छन् भन्ने पनि नजिकबाट बुझ्ने कोसिस गर्नुपर्दछ ।
घरको वातावरणले समेत विद्यार्थीमा सकारात्मक तथा नकारात्मक दुवै खालको असर गरिरहेको हुन्छ । यसको ज्वलन्त उदाहरण रुपमा भागरथीको हत्यामा संलग्न कक्षा ११ मा पढ्ने छात्रलाई लिन सकिन्छ । घरायसी रिीसबीको कारण उनले पहिलेदेखि नै भागरथीलाई मार्ने योजना बनाएको बताएका थिए । नाबालक भएकै कारण अहिले उनलाई जेलको सट्टा सुधारगृह पठाइएको छ ।
आमाबुबाका लागि सन्तान नै सबथोक हुन् । पैसा, खेलौना र खानाभन्दा पनि उनका लागि अभिभावकले समय दिन सक्नुपर्दछ । आफ्ना सन्तानको माया लाग्छ भन्दैमा चाहिनेभन्दा पनि नचाहिने सबै मागको सजिलै पूर्ति गरिदिँदा उनीहरूमा मिहिनेत गर्ने बानीको विकास हुनसक्दैन । ‘जे माग्दा पनि सजिलै पाइने रहेछ किन दुःख गरेर पढ्नु’ भन्ने सोच उनीहरूमा आउन दिनु हुँदैन । घरपरिवारको सुख, दुःखमा उनीहरूलाई पनि सामेल गराउनुपर्दछ । आफ्नो परिवारको पीडा बुझेका विद्यार्थीहरू बिग्रिने सम्भावना कम हुन्छ । विद्यालय तथा घरपरिवार मिलेर कलिला मुनाहरूलाई फक्रिने वातावरण मिलाउनुपर्दछ ।













































































































































































































