६ जेष्ठ २०८१, आईतवार

 

रहेनन् गीतमार्फत बेनी चिनाउने गायक टीकाबहादुर

गायक टीकाबहादुर श्रेष्ठको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बुटवलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउने ‘बेनीको बजार, जता माया उतै छ नजर’बोलको गीत गाएर ख्याति कमाएका श्रेष्ठ पछिल्ला दिन रूपन्देहीमा बसोबास गर्दै आएका थिए ।

श्रेष्ठले ‘बेनीको बजार’बोलको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । त्यसपछि यो ठाउँ विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो ।

श्रेष्ठकै रचनामा पत्नी मन छन्त्यालले युगल स्वर दिएको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा बेनी बजारलाई मायालुको सहर भनेरसमेत चिनिन्छ ।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौंको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले यो गीत गाएका थिए । उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ–दम्पतीले गाएको गीत प्रथम भएको थियो ।

लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रस्त गायक श्रेष्ठले निरन्तर रूपमा डायलसिस गराइरहेका थिए । श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए ।

प्रतिक्रिया दिनुहोस्