दस वर्षअघि गजेन्द्र चालिसेले सोचेका थिए– सकेसम्म विदेश जान्नँ । नेपालमै केही सिकेर नयाँ काम गर्छु । सुरुका दिनमा शिक्षक, रेडियोकर्मी हुँदै छापाखानामा काम गरे ।
त्यसैमा आनन्दित भए । सीप विकास गर्दै गएपछि बिस्तारै बागलुङ बजार छाड्ने निधो गरे । आर्दश विद्यामन्दिर माविबाट १२ कक्षा उत्तीर्ण गरेपछि काठमाडौं आए । सानैदेखि कम्प्युटर डिजाइनमा रुचि राख्थे गजेन्द्र ।
काठमाडौंमा टिक्न त्यही सीपलाई उपयोग गर्ने सोचे । ‘त्यति बेला आर्थिक अभियानमा मान्छे खोजेको थियो, त्यहाँ जागिरका लागि गएँ तर तपाईंजस्तो मान्छे खोजेको होइन भनेर फर्काइदियो,’ उनले भने । सुरुमा काठमाडौं आउँदा उनका लागि सबै कुरा नौलो थियो । अभियानले फर्काइदिएपछि उनले ‘गुरुङ प्रिन्ट’ नामक संस्थामा काम गर्ने गरी ५ वर्षको सम्झौता गरे ।
बागलुङमै धेरै डिजाइन गर्न जानेका गजेन्द्रले ‘गुरुङ प्रिन्ट’ मा काम गर्दागर्दै आफ्नो चिनजानको दायरा पनि बढाउँदै गए । तर पाँच वर्षको सम्झौता गरेका उनले आठ महिनामै जागिर छाड्ने निधो गरे ।
‘मणि नेपाल दाइले मलाई कतारबाट राम्रो जागिरका लागि भिसा आएको छ, त्यहाँ डिजाइन पनि सिक्न पाइन्छ भन्नुभयो । मैले एकैचोटिमा ओके गरेँ,’ उनले सम्झिए ।
थोरै लगानीमा २०७० सालमा कतार पुगेका थिए गजेन्द्र । तर त्यहाँ रोजगारीको ठेगान नहुने र डिजाइनको थप काम सिक्ने इच्छा चाँडै पूरा नहुने देखेपछि उनी तीन वर्षमै स्वदेश फर्किए ।
त्यतिन्जेल कतारमा सिकेको सीप र कमाएको रकमबाट नेपालमा आफैं व्यवसाय गर्ने सोच बनाएका थिए । तत्काल व्यवसाय थाल्ने सोचेजति सहज थिएन । संयोगवश त्यही बेला दाइ प्रकट कुमारको सहयोगमा नयाँ पत्रिकामा जोडिने अवसर पाए ।

परिवार यति बेला चितवन झरिसकेको थियो । विदेशबाट फर्किएको छोरोले चितवनमै केही व्यवसाय गरोस् भन्ने परिवार चाहन्थ्यो । तर उनले त्यो स्विकारेनन् । समयक्रममा कतारबाट ल्याएको कम्प्युटरबाट व्यवसाय सुरु गर्ने निधो गरे ।
नयाँ पत्रिकामा पार्टटाइम काम गर्दै उनले २०७३ सालमै भीआइपी मार्ग, बागबजारबाट कम्प्युटर डिजाइनिङको व्यवसाय थाले । नाम दिए– क्रियटिभ आइडियाज ।
साँघुरो कोठाबाट व्यवसाय गरेका उनी प्रिन्टका लागि अरूकैमा जान्थे । ग्राहकले सोचेभन्दा राम्रो परिणाम दिनुपर्छ भन्ने उनको सोच थियो । त्यही मेहनतले गर्दा उनले ग्राहकको मन जिते ।
‘व्यवसायमा पहिल्यैदेखि रुचि थियो तर आफूलाई अझै निखार्न चाहन्थेँ । त्यसै कारण कतार हान्निएको हुँ,’ उनले सम्झिए । पहिलेको ठाउँ साँघुरो भएपछि उनी अहिले अर्के ठाउँमा सरेका छन् । उनी अहिले नयाँ पत्रिकालगायत अन्य बेवसाइटहरूको प्राविधिक पक्ष हेर्ने काम पनि गर्छन् ।
०००
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भु मा ते संगोऽस्त्वकर्मणि ।।
भावार्थ– तिम्रो हक केवल कर्ममा मात्र छ, त्यसको फलमा छैन । त्यसैले कर्म गर, फलको आशा नगर । तिमी कर्मको फल हेतु आसक्त नहोऊ । कर्म नगर्नमा पनि आसक्ति नदेखाऊ ।
गीताको यो श्लोक क्रियटिभ आइडियाजको भित्तामा टाँसिएको छ । त्यहाँ पुग्ने प्रायःका आँखा त्यो श्लोकमा पुगेकै हुन्छन् । ठेलमठेल मान्छेसँगै गाडीहरूको पार्किङ, आवतजावत बढी हुने भित्री गल्ली । त्यहीँबाट सुरु हुन्छ गजेन्द्रको दैनिकी ।
पहिलेको ठाउँबाट यता सरेको धेरै समय भएको छैन । तर पुरानो ठाउँमा भन्दा ग्राहको चाप झनै बढेको उनी बताउँछन् । ‘डिजाइनका लागि धेरै ग्राहक आउनुहुन्छ, तर कामको चापले समयमै नसक्ने भएपछि अर्को ठाउँमा जानुस् भनेर पठाउँछु,’ उनी भन्छन् ।
कोरोनाका कारण लामो समय बिथोलिएको व्यवसायमा बल्ल ‘सिजन’ फर्किएको छ । बिहान ८ बजेदेखि राति २ बजेसम्म पनि काममै खटिन्छन् गजेन्द्र । ‘ग्राहकलाई भनेको समयमा दिन सकिन्न कि भन्ने डरले राति अबेरसम्म काम गर्छु,’ उनी भन्छन् ।
१० वर्षअघि गजेन्द्रले देखेको सपना अहिले पूरा हुँदै गएको छ । अब ‘प्रिन्ट सिटी’ बनाउने योजना बुनेका छन् उनले । ग्राहकले सबै सुविधा एकै ठाउँ पाऊन्, अन्त भौंतारिन नपरोस् भन्ने उनको चाहना हो ।
नेपालमा पनि कम्प्युटर डिजाइनमा धेरै सम्भावना छ भन्ने उदाहरण बनेका गजेन्द्र अहिले ६० भन्दा बढी कम्पनीको काम गरिरहेका छन् ।
कर्ममा अनवरत रूपमा खटिइरहेका उनले भित्तामा टाँसिएको गीता–दर्शन सापटी लिँदै भने, ‘कर्म गरे फल आफैं मिल्छ । तर मान्छे फलका लागि कर्म गर्दा दुःख पाउँछन् । धैर्य गर्न नसकेकै कारण सम्पत्ति डुबाउने गर्छन् ।’
सबैलाई एकैनासको व्यवहार गर्ने, सरल अनि मीठो बोलीका कारण उनीकहाँ पुगेका ग्राहक दोहो¥याएर त्यहीँ पुग्ने गरेका छन् । अहिले चार जनालाई रोगजारी दिएका उनी आफूजस्तै डिजाइनमा पोख्त कर्मचारीको खोजीमा छन् ।
रेडियोबाट जागेको भोक
बागलुङको जैमिनि नगरपालिका–६ अर्जेवामा जन्मिएका ३१ वर्षीय गजेन्द्र केही समय जिल्लामा पत्रकारितामा पनि सक्रिय भएका थिए । ताराखोला गाउँपालिकाको हरि उच्च माविमा अध्ययापन गराएका उनले धौलागिरि एफएम, आदर्श सञ्चार एवम् धौलागिरि प्रेसमा काम गरे ।

‘त्यति बेला जागेको भोकले अहिले म यो स्थानसम्म आइपुगेको छु,’ उनले सुनाए । बागलुङमा छँदा उद्योग वाणिज्य संघमा समेत काम गरेका गजेन्द्र व्यवसायीको हकहितका पक्षमा पनि आवाज बुलन्द पार्दै आइरहेका छन् ।













































































































































































































