बागलुङमा निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्दा कोरोना रोकथाम प्रभावकारी नहुने देखिएको छ । जिल्ला कोभिड संकट तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकको निर्णयले रोकथाम प्रभावकारी नहुने स्थानीयले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले बैंक तथा वित्तीय संस्थाहरु बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खोल्दा संक्रमण झनै फैलिने बताए । उनले भने -‘बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भइरहेका बेला कोभिड संकट तथा व्यवस्थापन समितिको निर्णयले थप त्रास फैलिएको छ ।’
व्यवस्थापन समितिले निषेधाज्ञा जारी समयमा सरकारी र सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बागलुङ नगरपालिकाभित्र क र ख वर्गका गरी २८ बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन रहेका छन् । बैंकका कर्मचारीलाई कोरोना संक्रमण भइरहेका बेला संक्रमण रोकथाम गर्न बैंकहरुलाई पनि बन्द गरिनुपर्ने भन्दै सरोकारवालाको टिम जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएको थियो । डेलिगेशन गएको टोलीको सुझाव सुन्दै नसुनी प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
नागरिकको बाच्ने अधिकार सुरक्षित बनाउन, कोरोना रोकथाम र परिक्षणको दायरा बढाई लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थालाई बन्द गरि संक्रमण रोकथाममा बढि चासो दिनुपर्ने मागसहित सिडिओ कार्यालय पुगेको नागरिक समाजका अध्यक्ष काजिगाउँले श्रेष्ठले जानकारी दिए ।
यता, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले कोरोना संक्रमण फैलिरहेका बेला बेड तथा संक्रमितको उपचारका लागि प्रशासनले बेलैमा ध्यानदिनुपर्ने मागसहित त्यहाँ पुगेर ध्यानाकर्षण गराएको बताए ।
‘निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाहरु खुल्दा मान्छेहरु त्यहीँ निहुँ बनाएर बाहिर नस्किन्छन्,’ उनले भने, ‘यसले थप संक्रमण फैलिन्छ, निषेधाज्ञामा यी क्षेत्र पनि पूर्णरुपमा बन्द हुनुपर्छ ।’
जिल्लामा सञ्चालित नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द अवस्थामा छन् ।प्रभु बैक बागलुङ शाखाको एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि दुई शाखा बन्द भएको थियो ।
सोही विषयलाई लिएर गत शनिबार नागरिक समाजका अध्यक्ष काजिगाउले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, बागलुङ उघोग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङको पूर्वअध्यक्ष तथा नयाँ विश्वको सम्पादक मुकेश राजभण्डारी सिडियो कार्यालयमा डेलिगेसन गएका थिए ।
बागलुङ जिल्लामा १३४ जना सक्रिय संक्रमित छन् । जसमा बागलुङ नगरपालिकाका ९६ जना, तारोखालाका ७ जना र अन्य काठेखोला र जैमिनीका रहेको धौलागिरि अस्पतालले जनाएको छ । ती मध्ये १५ जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङ बजार क्षेत्र रहेको वडा नं १ मा ८ जना, २ नं वडामा ३० जना,वडा नं ३ मा ५ जना र वडा नं ४ मा १५ जना कोरोना संक्रमित होमआइसोलेसनामा रहेका छन् ।













































































































































































































