अमेजनका संस्थापक सेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्याउन तयार रहेको बताएका छन्। उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यु सेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी गरेको छ ।
उक्त उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सिट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ। टेक्ससबाट उड्ने रकेट १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १ सय किलोमिटर माथि पुगेर फर्किनेछ । उक्त उडानमा बेजोस हुने वा नहुने विषय स्पष्ट छैन।
पृथ्वीमाथि १ सय किलोमिटरको दूरीलाई कार्मान लाइन भनिन्छ जसलाई अन्तरिक्षको प्रारम्भिक विन्दु मानिएको छ। ‘अहिलेसम्म सो लाइनमाथि ५६९ जना मानिस मात्रै पुगेका छन्।
हाम्रो नयाँ सेफर्ड यानबाट हामी त्यसका नाटकीय परिवर्तन गर्दै छौँ,’ कम्पनीकी विक्री निर्देशक एरियाना कोर्नेलले भनिन्। कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ।
इलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सहभागी सर्वसाधारण मात्र रहने यात्राको घोषणा गर्ने अपेक्षा गरेको छ। स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।
न्यु सेफर्ड १८ मिटर उचाइ र चार मिटर चौडाइको पुनः प्रयोग गर्न सकिने यान हो।
अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौँ अमेरिकी डलर पर्ने बताइएको छ। कम्पनीले प्रतिसिट दुई लाख डलरसम्म कमाउने अपेक्षा गरिएको छ।
बेजोसले ठूला रकेटहरूको समेत विकास गरिरहेका छन् । उनले आफ्नै भूउपग्रहमा आधारित इन्टरनेट नेटवर्क बनाउने योजना बनाएका छन्।













































































































































































































