चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्।
छ चक्का भएको जुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो।
उक्त यान अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो।चिनियाँ राष्ट्रपति सी जिन्पिङले एउटा विशेष सन्देशमा उक्त अभियानको ‘अद्वितीय उपलब्धि’का लागि बधाई दिएका छन्।
उल्लेख्य उपलब्धि
निकै कठिन प्रकृतिको ठानिएको उक्त कामका कारण मङ्गल सतह छुने सो सफलतालाई एउटा उल्लेख्य उपलब्धि मानिएको छ।बेइजिङ समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो।
अहिलेसम्म मङ्गल ग्रहमा अवतरण गर्ने सफलता अमेरिकाले मात्रै हात पारेको थियो।यस अवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ।

त्यस क्रममा उक्त अभियानले उच्च गुणस्तरका तस्बिरहरूबाट अवतरण गर्ने सबैभन्दा सुरक्षित ठाउँ पहिचान गरेको थियो।उसको उद्देश्य सक्दो बढी खाल्डा र ठूला ढुङ्गा छलेर अवतरण गर्न सकिने ठाउँ पहिचान गर्नु थियो।
मङ्गल ग्रहसँग पृथ्वीको दूरी ३२ करोड किलोमिटर छ जसको अर्थ त्यहाँबाट रेडियो सन्देशहरू १८ मिनेट लागेर पृथ्वीसम्म आइपुग्छन्।जसका कारण उक्त यान अवतरणका सबै तहहरू स्वचालित रूपमा व्यवस्थापन गरिएका थिए।
उसको वायुमण्डलमा प्रवेश, त्यसबाट झर्ने क्रम र अवतरणका रणनीतिहरूमा समेत त्यस्तै प्रक्रिया अपनाइएको थियो।छनौट गरिएको अवस्थाका लागि एरोसेलमा ढाकिएको यान तिआन्वेन अर्विटरबाट झरेको थियो।

यो एउटा जटिल चुनौती हो तर चीनले यससँगै अन्तरिक्ष जगतमा आफ्नो ठूलो क्षमता प्रस्तुत गरेको छ।सफल अवतरणपछि वैज्ञानिकहरूले अब यानले मङ्गल ग्रहमा कम्तीमा ९० दिन काम गर्दै त्यस वरपरको भूगर्भ अध्ययन गर्ने अपेक्षा गरेका छन्।
सोल भनिने मङ्गल ग्रहको दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ।उक्त यानको तौल २४० किलो छ त्यसले सौर्य ऊर्जाबाट काम गर्छ।
बीबीसीनेपालीबाट













































































































































































































