५ जेष्ठ २०८१, शनिबार

 

अस्ट्रेलियन निर्देशकको फिल्ममा को बन्ला तेन्जिङ नोर्गे ?

अस्ट्रेलियन हाई अल्टिच्युट डाइरेक्टर जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित अन्तर्राष्ट्रिय फिचर फिल्म ‘तेन्जिङ’ मा तेन्जिङ नोर्गेको भूमिका खेल्ने पात्रको खोजी सुरु भएको छ ।

आगामी वर्ष नेपाल र न्युजिल्यान्डमा छायांकन हुने यो चलचित्रका लागि तिब्बती, शेर्पा वा नेपालीमध्येबाट प्रथम सगरमाथा तेन्जिङ नोर्गेको मूल चरित्र निर्वाह गर्न योग्य कलाकारको खोजी भएको हो ।

यो फिल्मकी सहलेखक तथा निर्देशक जेनिफर पिडिमले दिएको जानकारीअनुसार फिल्ममा तेन्जिङको भूमिका निर्वाह गर्ने कलाकार अहिले नै अभिनयमा अब्बल हुन आवश्यक छैन ।

उनले भनिन्, ‘एथलेटिक बिउल्ड’ अर्थात् तन्दुरुस्त शरीर भएको पच्चीसदेखि चालीस वर्षभित्रको हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार खोजिरहेका छौं, जसलाई तेन्जिङको भूमिकामा देखाउन सकियोस् ।’ उनले छानिने कलाकारलाई आकर्षक पारिश्रमिकको व्यवस्था हुने र फिल्म आगामी वर्ष नेपाल र न्युजिल्यान्डमा छायांकन हुने पनि बताइन् ।

उनका अनुसार अहिलेसम्म दर्जनौंले आवेदन दिएका छन् भने दुई हप्तापछि ती आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्