४ श्रावण २०८३, सोमबार

 

उत्पादन बिक्री गर्न रिटेल स्टोर खोल्दै गुगल

एप्पलले आफ्ना उत्पादन बिक्री गर्न रिटेल स्टोर खोलेको दुई दशकपछि अर्को दिग्गज प्रविधि कम्पनी गुगलले पनि सोही पथ पछ्याएको छ । गुगलले बिहीबार न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसलका रूपमा गुगल स्टोर खोल्ने घोषणा गरेको हो ।

चेल्सी इलाकामा रहेका गुगलका कार्यालयमै रिटेल स्टोर स्थापना हुनेछ । न्युयोर्क सिटीस्थित गुगल कार्यालयहरूमा ११ हजारभन्दा धेरै कर्मचारीले काम गर्दै आएका छन् ।

गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टका साथै पिक्सेल बुक तथा फिटबिट डिभाइसहरू बिक्री गरिनेछ ।

एप्पलको जिनियस बार अवधारणाजस्तै गुगलले पनि रिटेल स्टोरहरूमा दक्ष कर्मचारीहरू खटाउनेछ जसले गुगलका सामानहरूमा देखा परेका समस्या समाधान गर्ने, पिक्सेल फोनको स्क्रिन मर्मत गर्ने तथा सफ्टवेयर इन्स्टल गरिदिने लगायतका काम गरिदिनेछन् ।

एक ब्लग पोस्टमा गुगलले रिटेल स्टोर स्थापना गर्नु हार्डवेयरतर्फको यात्रामा एक महत्त्वपूर्ण कदम रहेको जनाएको छ । त्यसमा भनिएको छ, ‘धेरै उपभोक्ताहरू सामान किन्नुअगाडि त्यसको हार्डवेयर कस्तो छ रु हातमा तथा डेस्कमा राख्दा कस्तो देखिन्छ रु छुँदा कस्तो अनुभव हुन्छ रु अनि आवाज कस्तो आउँछ भन्ने जान्न चाहन्छन् ।’

आफ्नो हार्डवेयर प्रडक्टको व्यापार वार्षिक अर्बौं डलरको हुने गरेको गुगलले जनाएको छ । तर कम्पनीको समग्र आम्दानीमा हार्डवेयर व्यवसायको हिस्सा कति छ भनेर उसले देखाउने गरेको छैन ।

केही वर्षयता गुगलले न्युयोर्क, सिकागो तथा लन्डनलगायत सहरमा अस्थायी हार्डवेयर पसल खोल्ने गरेको छ जहाँ ग्राहकले सामान हेर्न, वर्कसपमा भाग लिन तथा सामान खरिद गर्न पनि सक्छन् ।

तथापि आफ्ना सामान बिक्रीका लागि गुगल हालसम्म अधिकांशतः आफ्नो वेबसाइट तथा अन्य बिक्रेताहरूको भर पर्ने गरेको छ, जसमा बेस्ट बाई तथा अमेजनलगायत मुख्य छन् ।

विश्वमा आफ्नै रिटेल स्टोर सञ्चालन गरेर एप्पलले सफलता प्राप्त गरिरहेको भए पनि अन्य धेरै यस्ता कम्पनीहरू संघर्षरत छन् । यसअघि माइक्रोसफ्टले पनि आफ्नो रिटेल स्टोरका रूपमा धेरै ठाउँमा माइक्रोसफ्ट स्टोर्स खोलेको थियो ।

तर गत वर्ष मात्रै माइक्रोसफ्टले ती सबै ८३ वटा माइक्रोसफ्ट स्टोरहरू बन्द गर्ने र अनलाइनबाट सामान बिक्रीमा केन्द्रित हुने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung