५ जेष्ठ २०८१, शनिबार

 

मौलाकालिकामा केबलकार निर्माण सुरु, १ अर्ब ५० करोड लगानी

प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर जोड्न केबलकार निर्माणको काम सुरु भएको छ । नवलपरासी ९ त्रिवेणी सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–१ देखि मन्दिरसम्म केबलकार बनाउन लागिएको हो ।

उक्त केबलकार स्थानीय साझेदारसमेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले बनाउँदै छ । मंगलबारदेखि केबलकारका लागि सामुदायिक वनको रूख काट्न थालिएको छ ।

परियोजना प्रमुख इन्जिनियर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिरनजिक रहेको हेलिप्याडसम्म केबलकार बन्नेछ । १ किलोमिटर २ सय मिटर लामो उक्त केबलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला ९डब्बा० रहनेछन् ।

एउटा डब्बामा आठ जना अट्छन् । केबलकार निर्माणस्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्छन् ।

केबलकारको मार्गमा पर्ने १ हजार ३८ वटा रूख कटान गर्नुपर्नेछ । जेठ मसान्तसम्म रूख कटानको काम सकिने साउदले बताए । अस्ट्रियाको गोपलमेर कम्पनीको केबलकार जडान गर्न लागिएको हो ।

काठमाडौंको चन्द्रागिरिमा पनि त्यही केबलकार जडान गरिएको हो ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

उनको भनाइमा केबलकार सम्पन्न गर्न १ अर्ब ५० करोड लगानी हुनेछ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो ।

सरकारको प्रचलित नियमअनुसार उक्त जग्गाबापतको शोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए । केबलकारले एक घण्टामा ६ सय जनालाई सेवा दिने उनले बताए ।

स्थानीयसमेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साही भएका छन् । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवद्र्धनमा केबलकारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘यसले नगरक्षेत्रको पर्यटकीय विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँछ,’ उनले भने, ‘स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुका साथै होटल, रेस्टुरेन्ट व्यवसाय पनि फस्टाउने अपेक्षा छ ।’

स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले केबलकार निर्माण जिल्लाकै गौरवको आयोजना हुने बताए ।

‘एक वर्षपछि यहाँको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने ।मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यहाँ वार्षिक २ लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्