३ श्रावण २०८३, आईतवार

 

वृद्धभत्ता अब ४ हजार, निषेधाज्ञाभर मासिक २० युनिटसम्म बिजुलीको शुल्क तिर्न नपर्ने

- साल्ट ट्रेडिङमार्फत वितरण हुने खाद्यान्नमा २० प्रतिशत छुट, कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुर्‍याएको छ । आर्थिक वर्ष २०७८ र ०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

वृद्धभत्ता अब ४ हजार

यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबैखाले श्रमिक, कर्मचारी तथा प्राध्यापकलाई उक्त योजनामा समेटिने सरकारको भनाइ छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । तीमध्ये १७ लाख ३९ हजार ३५९ जनाले वृद्धभत्ता बुझ्दै आएका छन् ।

 एमालेका तत्कालीन अर्थमन्त्री  अधिकारीले १०० रुपैयाँका दरले वृद्धभत्ता दिन सुरु गरेका थिए

आर्थिक वर्ष २०५१र ५२ मा नेकपा एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले १०० रुपैयाँका दरले वृद्धभत्ता दिन सुरु गरेका थिए ।
सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताए । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि र बिमा कार्यक्रमको दिगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको उनले जनाए । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।

कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिइने भएको छ ।

सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्तामध्ये मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

साल्ट ट्रेडिङमार्फत वितरण हुने खाद्यान्नमा २० प्रतिशत छुट

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने

चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung