अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीलाई सैन्य सम्बन्ध र लगानी विस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् ।
बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्न सक्ने अनुमानलाई खारेज गरिदिएको छ । राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने देखिएको छ ।
चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राविधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने उनको ध्येय प्रस्टिएको छ ।
‘प्रतिबन्ध विस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मूल्यमान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,’ निर्देशनमा भनिएको छ ।
संशोधित सूचीमा वासिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकहरूको निगरानी वा दमन र गम्भीर मानवअधिकार उल्लंघनमा योगदान पुर्याउने कम्पनीहरू समावेश गरेको बताइएको छ ।
विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दाबी गरिएका धेरै कम्पनीहरू पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए ।
चिनियाँ प्राविधिक कम्पनी हुवावे, नेसनल अफसोर आयल कम्पनीलगायत ३१ कम्पनीसहित अमेरिकाले प्रतिबन्धित कम्पनीको संख्या ५९ पुर्याएको छ ।
यसबारे बेइजिङको तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि चिनियाँ अधिकारीहरूले व्यक्त गरेका अनौपचारिक भनाइहरूमा अमेरिकालाई राष्ट्रिय सुरक्षाको अवधारणा विकृत पार्ने र राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाइएका छन् ।
बेइजिङले चिनियाँ उद्यमहरूको अधिकार र हितको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा उनीहरूले राखेका छन् ।













































































































































































































