११ कार्तिक २०८३, मंगलवार

 

समाचारले दिने चेतना र जागरण अरू माध्यमबाट पाइनँ

म कर्ममा विश्वास गर्छु । बुझेको छु– मेहनत नगरे असफल भइन्छ । जीवन भनेको संघर्ष नै हो । मैले पनि जीवनमा धेरै अप्ठ्यारा पार गरेको छु । कयौंपटक मृत्युको मुखबाट निस्किएको छु ।

म सिधा बोल्छु । त्यसैले सबैलाई मिठो नलाग्न सक्छ तर सत्य बोल्छु । चिल्लो घसेर क्षणिक राम्रो हुन मलाई आउँदैन । मेरो शैली र व्यवहारलाई तत्काल गलत ठानेर टाढिएकाहरूले कालान्तरमा तँ सही रहेछस् भनेको पाएको छु ।

यसले थप आनन्द र ऊर्जा थपिदिन्छ । मेरो आवाज ठूलो छ । बोल्दै जाँदा त्यो झन् चर्को भइदिन्छ । यसले म आफैंलाई घाटा पनि भएको छ । सुधार्न खोजेँ, सकिनँ ।

नशा केही लिन्नँ । रक्सी–चुरोट कस्तो हुन्छ, आजको दिनसम्म थाहा छैन । भ्रमणमा रुचि राख्छु । त्यति अवसर भने पाएको छैन ।
म अन्याय सहन सक्दिनँ ।

आफ्नो र पराईको व्यवहार गर्नेलाई तत्काल प्रतिकार गरिहाल्छु । यो बानीले पनि कहिलेकाहीँ हानि गर्दो रहेछ । मेरो स्वभाव अलि विद्रोही पाराकै छु । पहिलो विद्रोह घरदेखि सुरु भएका थियो ।

म कुनै पनि चिजमा सही वा गलत के हो, पहिले त्यो हेर्छु । गलत सबैका लागि गलत हुन्छ । सही काम दुस्मनले नै गरे पनि छिट्टै प्रशंसा गरिहाल्छु ।

मान्छेलाई राजनीतिक ज्ञान र चासो पनि उत्तिकै आवश्यक छ । यसले चेतनाको स्तर उकासिदिन्छ । राजनीति भनेको पार्टी मात्र होइन, हरेक विषयमा हुन्छ । म सानैदेखि सामाजिक कार्यमा सक्रिय भएँ, आज पनि निरन्तर लागिरहेकै छु ।

दिनभर बोरामा बोकेर बजारमा बन्दा–काउली बेच्दा पाएको पैसा अप्ठ्यारोमा परेको अर्कै व्यक्तिलाई दिई रित्तो हात घर जाँदा बुबाआमाको गाली खाएको खुब सम्झना छ । मन कमलो छ । छिट्टै भावुक हुन्छु, फिल्म हेरेर धेरैपटक रोएको छु ।

अध्ययनमा भने अलिक अल्छी छु । हेरेको–सुनेको भरले कहीँकतै धोका पाएको पनि छु । कुनै पनि कुराले मन खायो भने त्यही गर्न मन लाग्छ । मन नगएको कुरा जति पहल गरे पनि गर्न सक्दिनँ ।

मेरो अन्तिम गन्तव्य भनेकै जन्मभूमि गल्कोट हो । आफ्नो भूमिप्रति प्रतिबद्ध छु । जीवनको अन्तिमसम्म पनि सामाजिक कार्यमा सक्रिय भइरहनेछु ।

म समाजसेवी होइन । समाजमा केही गर्नुपर्छ भन्ने अग्रजहरूको भनाइले प्रेरित भने छु । आफ्नो जन्मभूमिमा केही गर्नुपर्छ भन्ने सोच छ ।
बिदेसिएका गलकोटेहरू एक हुनुपर्छ ।

समृद्ध गलकोट नारा मात्र होइन, व्यवहारमा लागू गर्न र परिवर्तन गर्न अब गलकोटेहरूले लगानीमा हात हाल्नुपर्छ । यस क्रममा विभिन्न देशमा समन्वय गर्दै गलकोट समाजको निर्माणमा आफ्नो क्षमताले भ्याएसम्म लागिरहेको छु ।

अन्तर्राष्ट्रिय गलकोट समाजको निर्माण अनि समृद्ध गलकोटका लागि गलकोटेकै सामूहिक लगानीको आवश्यकतालाई चेतनामूलक अभियानमार्फत पूर्ति गर्न आफ्नो स्थानबाट सदा कोसिस गरिरहनेछु ।

मलाई आफ्नो विचार नभएर अर्काको विचारमा परिचालित हुने र क्षणिक स्वार्थका लागि आफ्नो नैतिकता नै गुमाउने व्यक्तिदेखि साह्रै घृणा लाग्छ । यस्ता व्यक्ति दिगोचाहिँ हुँदैनन्, मलाई राम्रोसँग थाहा छ ।

म हाल अन्तर्राष्ट्रिय प्रवासीहरूको साझा संस्था नेपाली जनप्रगतिशील मञ्च पूर्वी एसिया कमिटीको सदस्यका रूपमा छु । मेरो सम्पूर्ण प्रेरणाको स्रोत मेरा पूजनीय पिता देवराज पन्त (संस्थापक, कम्युनिस्ट पार्टी बागलुङ) हुनुहुन्छ । मलाई पत्रिका र रेडियोले सधैं आकर्षित ग¥यो ।

त्यति बेला गाउँमा टेलिभिजनको पहुँच थिएन । पत्रिका पनि प्रकाशनको भएको दुई–तीन दिनदेखि एक सातापछि मात्र हात लाग्थ्यो ।

आफूले अध्ययन गर्ने विद्यालय र वरपरको वातावरणमा राजनीतिक सरगर्मी बढ्दा मैले धेरै बुद्धिजीवी र स्थानीय नेताहरूले पत्रिका र रेडियोमा समाचार पढेको,सुनेको देखेको थिएँ ।

बागलुङ बजारबाट प्रकाशित हुने बागलुङ साप्ताहिक र राजधानीबाट प्रकाशित जनादेश,जनआव्हान,महिमा साप्ताहिकबाट म धेरै प्रभावित भएँ । त्यसमा भएका समाचार, लेख, रचना र अन्तर्वार्ता ध्यानपूर्वक अध्ययन गर्थें ।

समाचारले दिने सूचना, ज्ञान, चेतना र जागरण अरू कुनै माध्यमबाट पाइनँ । विदेश जाँदा पनि सञ्चार र राजनीतिक बहसबाट म टाढा हुन सकिनँ ।

प्रवासबाट मैले सेतो परेवा डटकम सञ्चालनमा ल्याएँ । त्यसलाई व्यवस्थित रूपमा चलाऔं भनेर काठमाडौंबाट केही समय चलाएँ पनि । मिडिया राम्रोसँग चलाउन समय, मेहनत, पुँजी, जनशक्ति र बजार व्यवस्थापनको ज्ञान चाहिँदो रहेछ ।

त्यो नहुँदा त्यसलाई निरन्तरता दिन गाह्रो हुँदो रहेछ । पछि व्यवस्थित रूपमा सेतो परेवा चलाउने योजना र सपना छ ।

मिडियाले राजनीतिक जागरणका साथै काम गरेर खाने आर्थिक पाठ पनि पढाउने हुँदा यसको हाम्रो जस्तो गरिबी र बेरोजगारी रहेको देशमा झन ठूलो खाँचो छ ।

( हाल : नागोया, आइचिकेन जापान )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung