२७ बैशाख २०८१, बिहीबार

 

निषेधाज्ञा लम्बिँदा बागलुङको होटल व्यवसाय संकटमा, छैन सरकारबाट कुनै राहत

कोरोना महामारीका कारण लामो समय लकडाउन भएपछि बागलुङका होटल व्यवसायी संकटमा परेका छन् । चर्को भाडा तिरेर व्यवसाय गरेका उनीहरू होटल खोल्न नपाउँदा विस्थापित हुने अवस्थामा पुग्न लागेका हुन् ।

कोरोनाका कारण पर्यटक नआउनुको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष, प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान,घुम्टे,पञ्चकोट धामलगायत प्रख्यात पर्यटकीय क्षेत्र यति बेला सुनसान छन् ।

सरकारले आर्थिक क्रियाकलाप केही खुकुलो पारेको भने त्यसलाई होटल व्यवसायको हकमा लागू गरिएको छैन ।

बागलुङका ९५ प्रतिशत होटल तथा रेस्टुरेन्ट भाडाको घरमा सञ्चालित रहेकोमा निषेधाज्ञाकै कारण धेरैजसो भाडा तिर्नै नसकेर विस्थापित हुने अवस्थामा पुगेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

‘अहिलेकै अवस्था कायम रहे व्यवसाय उठ्न नसक्ने गरी थला पर्नेछ,’ होटल सितलका सञ्चालक तालबहादुर कुँवरले भने, ‘सरकारले होटल सञ्चालनका लागि व्यवस्थित र वैज्ञानिक कार्यविधि ल्याउनुपर्छ, अन्यथा बागलुङका व्यवसायी पेसाबाट विस्थापित हुनेछन् ।’

संघका अनुसार जिल्लामा झन्डै १ सय होटल, रेस्टुराँ दर्ता भएका छन् । बागलुङ बजारभित्र त्यो संख्या ७० को हाराहारीमा छ । साना–ठूला सबै होटलमा गरी ५० करोडभन्दा बढी लगानी छ ।

कोरोनाले पर्यटन क्षेत्र तहस नहस हुँदा पनि तिनै तहको सरकारले कुनै राहतको कार्याक्रम ल्याएको छैन ।

बैक र सहकारीले लिने कर्जा र स्थानीय पालिका र सरकारले लिने व्यवसायीक करमा कुनै छुट र सुविधा नहुँदा व्यवसायीहरु सारै मारमा परेको छ भने त्यसमा आश्रित सयौं कर्मचारी र मजदुरहरुको दैनिकी संकटमा परेको छ ।

होटल तथा रेस्टुरेन्ट बन्द हुँदा झन्डै ५ सय जना बेरोजगार बन्न पुगेको होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए ।

हाम्रो सेवा जोखिमले भरिएकोले होटल, रेस्टुराँमा काम गर्ने कर्मचारी र संचालकलाई कोरोना भ्याक्सिनको व्यवस्था गर्न, सरकारले कर र कर्जामा छुट र आर्थिक राहतको व्यवस्था गर्नु पर्ने होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चोखालले नयाँ विश्वलाई बताए ।

स्वास्थ्य मापदण्ड र सुरक्षा सावधानीको व्यवस्था गरेर होटल, रेस्टुराँ खोल्न दिइनुपर्नेमा व्यवसायीको जोड छ ।

कोरोनाको पहिलो र दोश्रो लहरले बागलुङको होटल व्यवसाय चरम संकटमा परेकोले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर व्यवसायी राहतको कार्यक्रम ल्याएर पर्यटन क्षेत्रलाई माथि उठाउन ध्यान दिनु पर्ने होटल आरतीकी सञ्चालक कविता बस्नेतले बताइन्  ।

त्यसअघि होटल क्षेत्रमा संलग्न जनशक्तिलाई प्राथमिकतापूर्वक कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि उनीहरूले माग गरेका छन् ।

होटल, रेस्टुराँ देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको क्षेत्र हो तर सरकारले यस क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छैन होटल रेड एप्पलका संचालक तथा बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठले भने ।

होटल, रेस्टुराँलाई विदेशमा र काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गराएर संचालन गर्न दिएको छ ।

स्थानीय प्रशासन र पालिकाहरुले बागलुङमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर राहतको कार्याक्रमसहित होटल, रेस्टुराँ संचालनमा ल्याउनु पर्छ श्रेष्ठले नयाँ विश्वलाई भने ।

निषेधाज्ञा लम्बिँयो भने पर्यटन क्षेत्र उठ्न नसक्ने गरी थला पर्छ र व्यवसायीहरु सडकमा आउने र त्यसमा आश्रित लाखौं मजदुर र कर्मचारीहरुको रोजगारी संकटमा पर्छ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्