१६ बैशाख २०८१, आईतवार

 

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष : शिक्षाको जगमा उभिएको उपलब्धि

जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको सयौं स्थापनादिवस मनाउँदै गर्दा राष्ट्रपति एवम् पार्टी महासचिव सी चिनफिङले चीन सबै हिसाबमा मध्यम ढंगले समृद्ध समाज बनाउने लक्ष्यमा पुगेको घोषणा गरे ।

आधुनिकीकरणको चिनियाँ रणनीतिरयोजनाको मध्यकालीन चरण ‘मध्यम ढंगले समृद्ध समाज’ अर्थात् ‘स्याओकाङ’ बनाउने लक्ष्य हासिल गर्न खासमा शिक्षा नै चिनियाँ कम्युनिस्ट पार्टीको आधार र विस्तारको जग हो ।

सन् १९१० दशकको उत्तरार्धमा चीनलाई तत्कालीन अराजक अवस्थाबाट जोगाउने बाटो खोज्न चिनियाँ नेता माओत्से तुङसहितका युवा बौद्धिकहरूको समूहले बेइजिङ विश्वविद्यालयबाट काम थालेका थिए ।

त्यति बेलादेखि एक्काइसौं शताब्दीसम्म चीनको कम्युनिस्ट पार्टीले विभिन्न नीति, योजना र रणनीतिमा शिक्षालाई जनताको हितका लागि आवश्यक आधारभूत पक्षका रूपमा मात्र नभई सामाजिक एवम् आर्थिक विकासको प्रमुख चालक शक्तिका रूपमा लिएको छ ।

त्यही बाटो पछ्याउँदै स्याओकाङको बहुपक्षीय विकास सूचकमा शिक्षा एउटा प्रमुख मापदण्ड बनाइएको छ । स्याओकाङले आधुनिकीकरणको लक्ष्य हासिल गर्न प्रगतिको विशाल परिधिलाई प्रतिनिधित्व गरेको छ ।

स्पष्टतः बितेका एक सय वर्षमा गुणस्तरीय र समतामूलक शिक्षामा ठूलो प्रगति हासिल भएको छ । जनवादी गणतन्त्र चीनको स्थापना हुँदा ८० प्रतिशत मानिस अशिक्षित वा अर्धशिक्षित थिए ।

तर, सन् २०२० सम्म आइपुग्दा नौ वर्षको आधारभूत शिक्षा सबैको पहुचमा पुगेको छ ।

विद्यालय जाने उमेरका बालबालिका र किशोरकिशोरीमध्ये बहुमतको शिशु कक्षातहको शिक्षा (८५।२ प्रतिशत) र उच्च माध्यमिक तहमा (९१.२ प्रतिशत) पहुँच पुगेको छ ।

चीनका आधाभन्दा बढी युवा (५४.४ प्रतिशत) स्नातक तहको शिक्षाका लागि विश्वविद्यालय जाने गर्छन् । वास्तवमा चीनको उच्च शिक्षा प्रणाली संसारभरमै सबभन्दा ठूलो प्रणाली हो । चीनमा ४ करोड २० लाखभन्दा बढी विद्यार्थी उच्चशिक्षाका लागि विश्वविद्यालय तहमा सामेल हुने गरेका छन् ।

शैक्षिक विकासको यो उचाइले चीनको आर्थिक विकासका लागि मनग्य मानवीय स्रोत तयार गरेको छ ।

जसले मध्यम ढंगले समृद्ध समाज बनाउने लक्ष्यलाई सहज बनाएको छ । मध्यम ढंगले समृद्ध समाजमा सबैका लागि रोजगारी सुरक्षित हुनुका साथै त्यसले आर्थिक र सामाजिक प्रवर्धनमा पनि टेवा पुर्‍याउनेछ ।

संसारभर जुनसुकै देशमा पनि यो लक्ष्य हासिल गर्न लामो समय र धेरै स्रोतको खाँचो पर्छ ।

चीन भने दुई दशककै अन्तरालमा अनिवार्य शिक्षाको लक्ष्य हासिल गर्न सफल भयो । अरू देशलाई यो उपलब्धि हासिल गर्न सयौं वर्ष लाग्ने गर्छ ।

चीनले छोटो समयमा यो उपलब्धि हासिल गर्न कसरी सम्भव भयो ?

सबभन्दा पहिलो कारण त चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका लागि जनताको हित र समृद्धि नै पहिलो प्राथमिकताको विषय बन्यो । चीन सरकार वर्षौंवर्ष शैक्षिक विकासमा कटिबद्ध भएर लाग्यो ।

चीनका नेता तेङ स्याओपिङले भनेका छन्, ‘हाम्रो राज्य र आर्थिक विकासको क्षमता यहाँका श्रमिकहरूको गुणस्तर र प्रतिभाहरूको संख्या र गुणस्तरमा निर्भर रहन्छ । चीनको केन्द्रीय सरकार माध्यमिक र प्राथमिक विद्यालय–तहदेखि शिक्षाको विकासमा दिलोज्यान लगाएर काम गर्न प्रतिबद्ध छ ।’

पहिलाका चिनियाँ नेताहरूले शैक्षिक विकासका सन्दर्भमा दिएका विचारकै जगमा सी चिनफिङले चीनले शिक्षाको विकासलाई प्राथमिकतामा राखेर सधैं अघि बढाउने बताउने गरेका छन् ।

इतिहास र संसारबाट सिकेर चीनको कम्युनिस्ट पार्टीले शिक्षालगायत विविध क्षेत्रका अल्पकालीन र दीर्घकालीन विकास हासिल गर्न तथा सामाजिक र आर्थिक मुद्दा समाधान गर्न विविध तरिका पहिल्याउँदै आएको छ ।

प्रमाणमा आधारित शिक्षाको सहभागितामूलक अवधारणामा सर्वेक्षणरअनुसन्धान, परामर्श, नमुना अध्ययन, परिमार्जन र विस्तारको पूर्ण प्रक्रिया समावेश छ ।

देशको भौगोलिक आकार र देशभित्रै विभिन्न क्षेत्रमा भिन्नभिन्न विकासको अवस्थाले साझा विकासको लक्ष्य हासिल गर्न केन्द्रीकरण र विकेन्द्रीकरण, एकता र विविधताबीच सन्तुलन आवश्यक हुन्छ ।

निर्विवाद रूपमा ‘मध्यम ढंगले समृद्ध समाज’ हासिल गर्न चाहना, हिम्मत र आत्मविश्वासका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणप्रति लगनशीलता र समर्पणभावको पनि आवश्यकता हुन्छ ।

एक्काइसौं शताब्दीको चीनको शिक्षाको मर्यादाभित्र स्वयम् आफैं, अरू मानिस र राष्ट्रको सापेक्षतामा यस्ता मूल्य–मान्यता चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विरासत हुन् ।

सीपीसी आज समाजवाद निर्माणको साझा लक्ष्यमा समर्पित भएर चिनियाँ जनतालाई संगठित बनाउन लागिपरेको छ ।

जुलाई १ मा तियानानमेन चोकको मञ्चमा उच्च सरकारी नेताहरू र राष्ट्रपति सी चिनफिङनजिकै बसेकी युनानको एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापक चाङ कुइमेई यो भावना बोकेका उत्कृष्ट उदाहरणीय व्यक्ति हुन् ।

युनानको ग्रामीण क्षेत्रका शिक्षकका रूपमा शिक्षण यात्रा सुरु गरेकी कुइमेईले यो शताब्दीको सुरुवातको वर्षमा पहिलो निःशुल्क कन्या विद्यालय स्थापना गरेकी थिइन् ।

उनी अहिलेसम्म दुई हजारभन्दा बढी विपन्न पारिवारिक पृष्ठभूमिका छात्राहरूलाई विश्वविद्यालयको दैलोसम्म पुर्‍याउन सफल भइन् । उनी आफैं बितेका २४ वर्षदेखि क्यान्सर रोगबाट पीडित छिन् ।

तर, उनले आफ्नो मात्र जीवन परिवर्तन गरिनन्, बरु हजारौं विद्यार्थीको जीवनमा पनि परिवर्तन ल्याउन सफल भइन् ।

आफ्नो जीवन उनले विद्यालयको विकासकै निम्ति बिताइन्, विद्यार्थीहरूको हितको निम्ति रातदिन नभनी काम गरिन् ।

आफ्नो शैक्षिक जीवनभर उनले निकै साधारण जीवन बाँचिन् । सयौं स्थापना दिवसका दिन उनलाई दिइएको स्थानले सीपीसीले शिक्षालाई दिने प्राथमिकता झल्काएको छ ।

त्यस्तो शिक्षा जसले मानिसलाई शक्तिशाली त बनाउँछ नै, साथै आफ्नो भविष्य बनाउन क्षमतावान् पनि बनाउँछ ।

व्यापक जनताको भित्री हृदयदेखि सेवा गर्ने र शिक्षा दिने भावनामा आफूलाई समर्पित गर्ने शिक्षालाई सीपीसीले जोड दिएको छ ।

– वाङ यान
(लेखक बेइचिङ परराष्ट्र अध्ययन विश्वविद्यालयको शिक्षा विभागका प्राध्यापक हुन्)
स्रोत : सीजीटीएन, नेपाली अनुवाद : सुशीला, मजदुर अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्