२७ बैशाख २०८१, बिहीबार

 

जिल्ला प्रशासन पुगेर होटल व्यवसायीले भने– ‘खोप नपाए धर्ना बस्छौं, तालाचाबी बुझाउँछौं’

बागलुङका होटल तथा रेस्टुरेन्ट व्यवसायीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले प्रमुख जिल्ला अधिकारीसँग सरकारले विभिन्न क्षेत्र र उमेर समूहका मानिसलाई खोप दिइरहे पनि आफूहरूलाई उपेक्षा गरेको गुनासो गरेका छन् ।

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, होटल व्यवसायी संघ बागलुङका अध्यक्ष नीलेश राजभण्डारीसहितको टोलीले प्रजिअ शिवकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।

अन्य क्षेत्रमा लगाइएको निषेधाज्ञा दिनप्रतिदिन खुकुलो बनाइए पनि होटल व्यवसायीप्रतिको सरकारको नजर भेदभावपूर्ण देखिएको आरोपसमेत उनीहरूले लगाएका छन् ।

होटल व्यवसायी र कर्मचारीहरूलाई कोरोना संक्रमणको जोखिम बढेकाले खोपको मागसहित प्रजिअको ध्यानाकर्षण गराइएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष राजभण्डारीले बताए ।

‘कोरोना संक्रमण र लकडाउनले होटल व्यवसाय सबैभन्दा बढी मारमा परेको छ,’ उनले भने, ‘होटल सञ्चालक एवं कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने सवालमा राज्यले उच्च प्राथमिकता दिनुपर्छ ।’

होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चोखालले होटल व्यवसायीलाई खोपको प्राथमिकतामा नराखिएकोमा आपत्ति जनाए ।

कामविशेषले घरबाहिर निस्कने मानिसलाई सेवा दिन होटल व्यवसायको महत्त्वपूर्ण भूमिका हुने भएकाले राज्यले त्यसैअनुरूप हेर्नुपर्ने उनको भनाइ छ ।

‘साउन १५ गतेसम्म पनि हाम्रा माग सम्बोधन नभए १६ गते धर्ना बस्न बाध्य हुनेछौं, २० गते प्रशासनलाई व्यवसायीहरूले चाबी हस्तान्तरण गर्नेछन्,’ उनले भने ।

प्रजिअ कार्कीले केन्द्रको निर्देशनअनुसार अहिले जिल्लामा खोप लगाउने काम भइरहेको र अब छिट्टै सबै समूहमा पु¥याइने बताए ।

लकडाउन खुकुलो भएसँगै मानिसको चहल–पहल बढेकाले होटल व्यवसायी र कर्मचारीलाई खोप नलगाउँदासम्म अन्य क्षेत्र पनि सुरक्षित नहुने व्यवसायीहरूको तर्क छ ।

होटल व्यवसाय पनि उच्च जोखिम क्षेत्र भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ ।

विगतमा कोरोना संक्रमित तथा वैदेशिक रोजगारीबाट घर आएकाहरूलाई बागलुङका होटलहरूमा क्वारेन्टिनमा बस्ने व्यवस्था गर्ने होटल व्यवसायीलाई खोपका बेला बेवास्ता गरिनु दुःखद भएको होटल आरतीको संचालक कविता बस्नेतले बताएन् ।

कोरोनाका कारण करोडौँको नोक्सानी बेहोरिसकेकाले तत्काल खोपको व्यवस्था गरी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्