अस्तव्यस्त सडक र चोकलाई सुधार्न प्रहरी र ट्राफिक प्रहरीले अभियान चलाएको छ । केही समय अघिबाटै एकतर्फी नो पार्किङ चलाएको ट्राफिकले चोकमा नियम पालनामा कडाइ गरेको हो ।
चोकचोकमा ट्राफिकको डमी राखिएको छ । नियम पनि उल्लेख छन् । कोरोना महामारीको समय भएकोले अनिवार्य मास्क लगाउन सम्झाउनेदेखि चोक पार गर्दा अपनाउनुपर्ने नियमबारे सवारी चालकलाई प्रशिक्षण दिन थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताए ।
‘अधिकांश दुर्घटना साँघुरो सडकमा ओभरटेक गर्दा हुन्छ,’ उनले भने । बजारभरि ट्राफिक चिह्न प्रयोगमा ल्याउने योजना उनले सुनाए । प्रशासनले उद्योग वाणिज्य संघको सहकार्यमा सडकमा असरल्ल छाडिने निर्माण सामग्री हटाउन लगाएको छ ।
तीव्र गतिमा मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने, आवाज ठूलो आउने बनाएकालाई नियन्त्रणमा लिने गरेपछि लापरबाहीका घटना घटेको उनले बताए । साताको पहिलो ३ दिन बाँया र पछिल्लो ३ दिन दायाँतर्फ पार्किङको व्यवस्था गरिएको छ ।
सदरमुकामको ट्राफिकचोक, हल्लनचोक, शिवधाराचोक र बाघचोकमा सडक चौडा पारिएको छ । नगरपालिकाले घर हटाउन जारी गरेको सूचना भने फिर्ता लिएकाले अझै अभियान पूरा भएको छैन । पोखरा बागलुङ राजमार्ग निर्माणको क्रममा मापदण्ड मिचिएका झन्डै २ दर्जन घर अभै भत्केका छैनन् । ती घरका कारण ट्राफिक चोकदेखि रामरेखातर्फको केही खण्ड अझै साँघुरै छ ।













































































































































































































