१५ बैशाख २०८१, शनिबार

 

पोखरामा पर्यटन व्यवसायीलाई कोरोना खोप, अन्य जिल्लामा पनि छिट्टै

पर्यटन व्यवसायीलाई लक्षित गरेर पोखरामा बिहीबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरास्थित नेपाल पर्यटन बोर्ड परिसरमा पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै अभियानको सुरुवात गरे ।

प्रदेश राजधानीबाट सुरु गरिएको खोप अभियान अन्य जिल्लामा पनि लगत्तै सुरु गर्ने जनाउँदै मन्त्री शर्माले खोपकै कारण कोही पनि निराश नबनी उच्च मनोबलसाथ आआफ्नो पेसा–व्यवसाय र सेवामा जुट्न सबैलाई अनुरोध गरे ।

पर्यटन व्यवसायीहरूले धेरै अगाडिदेखिबाट खोपको माग गर्दै आएकोमा वर्तमान सरकारले त्यसलाई सम्बोधन गरेको उनको भनाइ थियो ।

त्यस क्रममा मन्त्रीद्वय शर्मा र थापाले पोखरा पर्यटन परिषद्को संयोजनमा निर्धारण गरिएका पाँचवटै खोप केन्द्रको निरीक्षणसमेत गरे ।

नेपाल पर्यटन बोर्डमा टान, पश्चिमाञ्चल क्षेत्रीय संघ, एनएमए, ओटेफ र टेवान, माउन्ट कैलाशमा रेवान पोखरा र नेपाल हवाई खेलकुद संस्था, होटल बाराहीमा पश्चिमाञ्चल होटल संघ र पोखरा पर्यटन परिषद्, बोम¥याङ रेस्टुरेन्टमा नाट्टा गण्डकी प्रदेश, एगा पोखरा, टेसा पोखरा,

एनटीभी ए र द विच रिसोर्टमा भिटोफ, मनी चेन्जर, स्पा, डुंगा एसोसिएसन, टुरिस्ट बुक सप, सिटी टुर गाइड, अखिल मजदुर संघ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थान्का एन्ड प्रिन्टिङ, नेसनल टुर गाइडलगायतलाई खोप लगाउने व्यवस्था मिलाइएको परिषद्का कार्यवाहक अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रेवान पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ, पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुली, टान गण्डकीकी महासचिव कमला गिरीले पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य घोषणा गर्न माग गरे ।

पोखरा पर्यटन परिषद्मार्फत २ हजार ५ सय मात्रा खोप वितरण गरिएको हो । उद्योग वाणिज्य संघ र अन्य व्यावसायिक संघसंस्थाले भोलिबाट क्रमशः खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तस्वीर : ढोरपाटन डटकमबाट

प्रतिक्रिया दिनुहोस्