२२ बैशाख २०८१, शनिबार

 

अनलाइन कक्षामा विद्यार्थीको निगरानी सहज बनाउन जुममा थपियो नयाँ फिचर

कामकाजी मानिसहरूका लागि भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म जुम दैनिकीजस्तै बनिरहेको छ अहिले । महामारीका बेला घरबाटै कार्यालयको काम गर्न र बैठक–अन्तरक्रियामा सहभागी हुन जुमको प्रयोग अनिवार्य जस्तै बनिरहेको छ ।

अझ विद्यालय जान नपाएर घरबाटै भर्चुअल माध्यमबाट पठनपाठन गरिरहेका विद्यार्थीको माझमा जुम सर्वाधिक प्रयोग हुने प्लाटफर्म हो । लोकप्रियताको सिँढी चढिरहेको जुमले पछिल्लो समय एक नयाँ फिचर थप गरेको छ, जसको नाम फोकस मोड हो ।

अनलाइन अर्थात् भर्चुअल कक्षाका बेला विद्यार्थीहरूको ध्यान नभड्कियोस् र विद्यार्थीहरू पढाइका बेला कक्षामै केन्द्रित होऊन् भन्ने अभिप्रायले जुमले उक्त फिचर पेस गरेको बताइएको छ । फोकस मोड फिचरको माध्यमबाट शिक्षकहरूले विद्यार्थीका भिडियो तथा स्क्रिन सेयरहरू लुकाउन सक्छन् । यस्तोमा विद्यार्थीले कक्षामा अरू को–को विद्यार्थी छन् भन्ने देख्न पाउँदैनन् ।

शिक्षकले भने सबै विद्यार्थी तथा उनीहरूका स्क्रिन सेयर पनि हेर्न सक्दछन् । जुमको फोकस मोडको सहायताले होस्टले आवश्यक परेको बेला वा चाहेका बेला सहभागीलाई सजिलैसँग भिजिबल गराउन सक्छ । अर्थात् कुनै भर्चुअल क्लासमा शिक्षकसँग फोकस मोड अफ गर्ने वा अन गर्ने अधिकार रहन्छ ।

कुनै विषयवस्तुमा विद्यार्थीबीच एकअर्कालाई हेर्दै अन्तरक्रिया गर्नुपर्ने भए फोकस मोड बन्द गरेर सबैका स्क्रिन देखाइदिने र शिक्षकले पढाइरहेको कुरामा केन्द्रित हुनुपर्दा फोकस मोड अन गरेर सहभागीहरूले शिक्षकलाई मात्र देख्ने बनाउँदा अनलाइन कक्षा निकै प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । फोकस मोडमा सहभागीले अर्को सहभागीको स्क्रिन तथा अनुहार देख्न पाउँदैन ।

तथापि सहभागीहरूको नाम हेर्न, इमोजी प्रतिक्रिया पठाउन, अनम्युट गरेर आफ्नो बोली अरूलाई सुनाउन वा अरूको बोली सुन्न तथा आफ्नो भिडियोचाहिँ देख्न पनि पाउँछ ।

जुमको यो फिचरको भर्चुअल कर्पोरेट बैठकका बेला पनि गर्न सकिन्छ । एक सहभागीलाई अर्कोसँग नदेखाउने यो फिचर केही हदसम्म वेबिनारजस्तै प्रतीत हुन्छ । अर्थात् जुमको प्रयोग वेबिनार आयोजनामा पनि गर्न सकिन्छ ।

तथापि यसमा होस्टसँग कुनै पनि बेला सबै सहभागीलाई देखिने बनाउन सक्ने अधिकार रहन्छ । एक प्रेस विज्ञप्ति जारी गर्दै जुमले भनेको छ, ‘डिजिटल सिकाइको वातावरणलाई ध्यानमा राख्दै फोकस मोड डिजाइन गरिएको हो । यसले विद्यार्थीहरूको सुपरिवेक्षण भइरहनुका साथै विद्यार्थीलाई चनाखो भइरहन र आफ्नो काममा ध्यान दिन सक्ने बनाउनुका साथै अरूबाट ध्यान भंग हुन दिँदैन ।’

फोकस मोड अन गर्न प्रयोगकर्तासँग विन्डोज वा म्याक कम्प्युटरमा जुमको डेस्कटप क्लाइन्ट भर्सन ५।७।३ हुनु आवश्यक छ । यसको अर्थ यो फिचरको प्रयोग मोबाइल फोनबाट जुम चलाउँदा गर्न सकिनेछैन । तथापि होस्टले सबै प्रयोगकर्ताका लागि फोकस मोड अन ग¥यो भने त्यसको असर पुरानो भर्सनको जुम चलाइरहेका वा मोबाइलमा जुम चलाइरहेकाहरूलाई पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्