६ जेष्ठ २०८१, आईतवार

 

ग्रीन डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा वृक्षारोपण

बागलुङका व्यवसायीहरुको सक्रियतामा स्थापना भएको ग्रीन डेभलपमेन्ट बैंक बुधवारबाट नवौं वर्षमा प्रवेश गरेको गरेको छ । २०७० सालमा स्थापना भएको बैंकले गण्डकी प्रदेशको राजधारी पोखरामा वृक्षारोपण गरी नवौं स्थापना दिवस मनाएको छ ।

बैंकको वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका–२८ स्थित रत्नशोभा माध्यामिक विद्यालय प्राङगणमा वृक्षारोपण गरिएको हो । सो अवसरमा अशोका, इन्द्रकमल, कपुरलगायतका विभिन्न प्रजातिका ५० विरुवा रोपिएको थियो ।

बैंकका संचालक कृष्ण शंकर श्रेष्ठले रत्नशोभा माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई एक थान युरो गार्ड हस्तान्त्रण गरेका थिए ।

विद्यालयको हरियाली प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले वृक्षारोपण गरिएको बैंकका संचालक कृष्णशंकर श्रेष्ठले नयाँ विश्वलाई बताए ।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानीयस्तरमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

वृक्षारोपण कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा सदस्य विष्णुप्रसाद तिवारी, रत्न शोभा माध्यामिक विद्यालयका प्रअ गोपालबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बैंकका कर्जा विभाग प्रमुख हरिबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन बैंक सञ्चालन विभाग प्रमुख सुशिल पौडेलले गरेका थिए । बैंकले विभिन्न बचत एवं मुद्दती खाताहरूमा आकर्षक ब्याजदर प्रदान गर्नुका साथै सहज र सुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत आचार्यको भनाइ छ ।

बैंकले उद्योग, व्यापार,पशुपालन,कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखि कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्नवर्ग कर्जासमेत प्रवाह गर्दै आएको छ ।

२०७० भदौ ९ गते ‘ख’ श्रेणीको विकास बैंकका रूपमा बागलुङमा केन्द्रीय कार्यालय बनाएर सञ्चालनमा आएको बैंकले १३ शाखाबाट सेवा दिइरहेको छ ।

बागलुङ, म्याग्दी, कास्की, नवलपरासी गरी ५ जिल्लाबाट सेवा दिइरहेको बैंकको ५१ करोड रुपैयाँको कुल सेयर पुँजी रहेको छ । बैंकले २ अर्ब कर्जा प्रवाह गरेको छ । अब तनहुँको डुम्रे र दुले गौंडामा शाखा विस्तार गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

२०७६ बाट गण्डकी प्रदेशको राजधानी पोखरामा केन्द्रीय कार्यालय राखेर बैंकले अत्याधुनिक सुविधासहित सेवा दिइरहेको अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।

ग्रीन डेभलपमेन्ट बैंक गण्डकी प्रदेशको एक मात्र विकास बैंक हो । यसभन्दा अघि बैंकको आठौं वार्षिकोत्सवका उपलक्ष्यमा सामाजिक र साँस्कृतिक उत्तरदायित्व महसुस गरी बागलुङ बजारको ३ सय वर्ष पुरानो हनुमान नाच र राममन्दिरको संरक्षणका लागि ५० हजार सहयोग गरेको थियो ।

उपत्यकाको भक्तपुरमा जन्मिएको नाचलाई बागलुङमा भक्तपुरबाट आएर बसेका नेवार समुदायले मात्र संरक्षण गरेका छन् । त्यसै गरी बैंकले बागलुङको लक्ष्मीनारायण वैंकटेश्वर मन्दिर कुँडुलेलाई पनि २५ हजार आर्थिक सहयोग गरेको थियो । देशमा दैवी प्रकोप पर्दा बैंकले आर्थिक भौतिक सहयोग गर्दै आएको बैंकका संचालक मनोविज्ञान श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्