२२ बैशाख २०८१, शनिबार

 

आविष्कार केन्द्रलाई थप २ लाख २० हजार सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नेहरू थपिँदै गएका छन् । हालै मात्र थप दुई जनाले दुई लाखभन्दा बढी रकम सहयोग गरेको केन्द्रले जनाएको छ ।

केन्द्र सञ्चालक महावीर पुनको फेसबुक पेजमा उल्लेख भएअनुसार पोखराको बगालेटोल निवासी पुष्पराज श्रेष्ठको दम्पतीले १ लाख रुपैयाँ हस्तान्तरण गरेको उल्लेख छ । उनीहरूले अमेरिकामा पढ्ने छोरा आश्विनराजको जन्मदिनका अवसरमा केन्द्रलाई आर्थिक सहयोग गरेका हुन् ।

त्यस्तै नयाँ बानेश्वर बस्दै आएका विप्लवकुमार श्रेष्ठले १ लाख २० हजार रुपैयाँ केन्द्रको बैंक खातामा जम्मा गरिदिएको पुनले जनाएका छन् ।

‘अहिलेसम्म दुईवटा बैंकमा कति पैसा जम्मा भयो भन्ने कुरा दाताहरूको पूर्ण लिस्टसहित वेबसाइटमा नै राख्नेछौं,’ उनले लेखका छन्, ‘साथै आगामी दिनका कार्यक्रमबारे राष्ट्रिय आविष्कार केन्द्रको बोर्ड मिटिङ २–३ दिनभित्रमा नै बसेर जानकारी दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस्