६ जेष्ठ २०८१, आईतवार

 

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावित १३५ परिवारलाई राहत वितरण

ग्लोबल आइएमई बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ताका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।

बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपद्बाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो ।

बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको हो ।

ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता तथा रामग्राम नगरपालिका वडा नं. १८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत सामग्रीहरु पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपत्तिहरुको समयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्