६ जेष्ठ २०८१, आईतवार

 

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई आफूमा विलय गराउँदै

प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । संस्थालाई एक्वायर गर्ने विषयमा दुई पक्षबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।

दसैंअघि नै सेयर आदनप्रदान अनुपातमा सहमति गरेर फाइनान्सलाई प्रभुमा विलय गराउने तयारी छ । प्रभु बैंकले ४० देखि ५० रुपैयाँको बीचमा दिने प्रस्ताव गरेको छ भने क्यापिटल मर्चेन्टले ५० देखि ५५ रुपैयाँ माग गरेको छ । यही विषयमा एक साताभित्र सहमति हुँदै छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त वित्तीय संस्था लिँदा सुविधा दिएपछि प्रभुले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्न लागेको हो । ८ वर्षअघि समस्याग्रस्त सूचीमा रहेको फाइनान्सको अधिक सेयर हिस्सा नयाँ समूहले लिएपछि उद्योगी प्रबलजंग पाण्डे, गैरआवासीय नेपाली चिरञ्जीवी थापालगायत समूहले ३ वर्षअघि प्रतिकित्ता २२ रुपैयाँमा खरिद गरेको थियो । नयाँ समूहले लिए पनि क्यापिटल सञ्चालनमा आएको थिएन ।

नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्टलाई समस्याग्रस्त सूचीबाट मुक्त गरेको छैन । पुराना संस्थापक सेयरधनीसँग कुरा मिलेपछि सुरुमा थापा समूहले प्रतिकित्ता २२ रुपैयाँका दरले ६२ प्रतिशत अर्थात् ६२ लाख कित्ता सेयर खरिद गरेको थियो ।

यस्तै १७ प्रतिशत अर्थात् १७ लाख कित्ता फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत पवनकुमार कार्की र बाँकी सर्वसाधारणको सेयर लगानी छ । पूर्वसीईओ कार्की अहिले अमेरिकामा छन् । २०७४ पुसमा फाइनान्सको ९३ करोड ५० लाख ६९ हजार रुपैयाँ चुक्ता पुँजी छ ।

२०७४ पुससम्म फाइनान्सको ८३ करोड ४० लाख निक्षेप दायित्व र १ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ ऋण असुली हुन बाँकी छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नुअघि कम्पनीको निक्षेप २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ तथा ऋण ३ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ थियो । राष्ट्र बैंकले २०६९ माघ ९ गते क्यापिटल मर्चेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो । तत्कालीन प्रमुख सीईओ कार्कीलगायतको समूहले संस्थालाई धराशायी बनाएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ऋण उठाएर निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न संस्थालाई निर्देशन दिएको थियो ।

नयाँ समूहबाट फाइनान्सको अध्यक्षमा थापा छन् । यस्तै सञ्चालकहरूमा निरञ्जनसिंह बस्नेत, भूपेन्द्रबहादुर बस्नेत, जगतराज खनाल र स्वतन्त्र सञ्चालकको रूपमा कैलाशभक्त कारञ्जित रहेको सञ्चालक समिति बनेको छ । समस्याग्रस्त फाइनान्सलाई प्राप्ति गर्नेलाई थप सहुलियतको व्यवस्था चालू आर्थिक वर्षको मौद्रिक नीतिमा आएपछि यसलाई उपयोग गर्दै प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई समाहित गर्ने प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा समस्याग्रस्त घोषणा गरिएका कम्पनीलाई आफूमा समाहित गरेमा राष्ट्र बैंकले सुविधा दिने व्यवस्था गरेको छ । मौद्रिक नीतिको १२० नम्बर बुँदामा वाणिज्य बैंकले समस्याग्रस्त वित्तीय संस्था आफ्नो संस्थामा समाहित गरेमा सुविधा उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्