प्रिय राष्ट्रपति
हालै अमेरिकी राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार भेटघाटमा तपाईंले क्युबा र त्यहाँको कोभिड–१९ खोप अभियानबारे भन्नुभयो, ‘यदि एउटा अन्तर्राष्ट्रिय संगठनले क्युबाका सर्वसाधारण जनताको पहुँचमा खोप वितरण गर्ने जिम्मा लिने हो भने क्युबालाई पुग्दो मात्रामा खोप दिन म तयार छु ।’
साथै तपाईंले क्युबालाई ‘असफल राज्य’ को पनि संज्ञा दिनुभयो । तपाईंका यी अभिव्यक्तिले धेरैलाई आश्चर्यमा पार्यो । क्युबाको स्वास्थ्य प्रणालीबारे प्रत्यक्ष जानकारी हुने अमेरिकाकै नागरिकले समेत तपाईंका कुरा सुनेर अनौठो माने ।
तपाइंको शब्दले आफ्नो देशमा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रण गर्न आफ्नो जीवन खतरामा राखेर काम गरिरहेका अग्रमोर्चाका क्युबाली स्वास्थ्यकर्मीहरूलाई समेत आक्रोशित बनाएको छ । तपाईंको अभिव्यक्तिले क्युबाको वास्तविकता प्रतिविम्बित गर्दैन । हामी तपाईंको नीतिगत निर्णयमा प्रभाव पार्ने गरी बदनियत राख्नेहरूले प्रवाह गरेको गलत सूचनाप्रति खेद प्रकट गर्दछौँ ।
हामी वैज्ञानिक, चिकित्सक र सम्बद्ध नागरिकहरू तपाईंका अभिव्यक्तिमा निहित तीन पूर्वानुमानमाथि सत्यको परीक्षण गर्नुपर्ने ठान्छौँ ।
पहिलो पूर्वानुमान, सबै क्युबालीलाई खोप सुनिश्चित गर्न अन्तर्राष्ट्रिय हस्तक्षेप आवश्यक छ । दोस्रो पूर्वानुमान, महामारी प्रतिरोधमा क्युबाको प्रतिक्रिया ज्यादै न्यून छ । त्यो एउटा ‘असफल राज्य’ को लक्षण हो ।
तेस्रो पूर्वानुमान, क्युबाका १ करोड १० लाख मानिसलाई कोभिड–१९ खोप सुनिश्चित गर्ने एउटा बाटो भनेको अमेरिकाले दिएको खोप मात्र हो । आउनुस्, यी तीन पूर्वानुमानमाथि एक–एक गरी परीक्षण गरौँ ।
पहिलो पूर्वानुमान स् सबै क्युबालीहरूसम्म खोपको पहुँच सुनिश्चित गर्न हस्तक्षेपको आवश्यकता छ । त्यसको अर्थ क्युबामा अहिले लगाइएको खोप अप्रभावकारी र विभेदकारी छ । तर, तथ्य–तथ्यांकले यस्तो भन्दैन । वास्तवमा युनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दुवैले क्युबामा बालबालिकाले लगाउने दर ९९ प्रतिशत भएको स्विकारेका छन् ।
खोप लगाउनु क्युबाको अनिवार्य जनस्वास्थ्य प्रणालीको हिस्सा हो । सबै सामाजिक–आर्थिक हैसियत, राजनीतिक आस्था, धर्म र लिंग आदिका क्युबाली जनतालाई खोप निःशुल्क हुँदै आएको छ । सन् १९६२ मा सुरु भएको राष्ट्रिय खोप कार्यक्रम सिंगो देशभर लागू छ ।
सन् १९९९ देखि सबै क्युबालीहरू तेह्रथरी सम्भावित घातक रोग, जस्तै–भ्यागुते रोग, टिटानस र श्वास प्रश्वाससम्बन्धी पर्टुसिस आदिबाट सुरक्षित छन् । तेह्र रोगमध्ये आठ रोगको खोप क्युबामा उत्पादन हुँदै आएको छ ।
उच्च खोपदरका कारण क्युबामा एक जना पनि दादुराका रोगी छैनन् । बरु, अमेरिकामा सन् २०१९ मा १ हजार २८२ जना दादुराका रोगी फेला परेको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
अमेरिकामा खोप नलगाएका बालबालिकाको संख्या बढेको हुनाले भविष्यमा यस्तो रोगका बिरामी बढ्न सक्ने बताइएको छ । सन् १९८९ मा हवानाको द फिन्ले खोप प्रतिष्ठानले मेनेन्जाइटिस बी रोगविरुद्ध संसारकै सबभन्दा प्रभावकारी खोप विकास गरेको थियो ।
परिणामतः मेनेन्जाइटिस बी रोग लाग्ने बिरामीको संख्या क्युबामा प्रति एक लाख १४.४ जनाबाट घटेर प्रति एक लाख मानिसमा ०.१ भन्दा कम भएको थियो । जस कारण त्यो रोग क्युबाको सार्वजनिक स्वास्थ्य समस्या बन्न छोडेको थियो ।
राष्ट्रिय खोप कार्यक्रममा क्युबा सफल हुनुका विविध कारण छन् । क्युबाली जनता सहज रूपमा आफ्नै छिमेकमा बस्ने सामुदायिक स्वास्थ्य चौकीमा भेटिने पारिवारिक चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि विश्वास गर्छन् ।
त्यसले खोप लगाउन अनकनाउने समस्या निकै कम छ । बरु क्युबाको स्वास्थ्य प्रणालीको सांगठनिक क्षमताले खोप कार्यक्रमलाई निकै तीव्र र भरपर्दो बनाएको छ ।
क्युबाका जैविक प्राविधिक अनुसन्धान तथा उत्पादन केन्द्रहरू जनस्वास्थ्य प्रणालीको आवश्यकताअनुसार संयोजित छन् ।
खोपको विषयमा डब्ल्यूएचओ र युनिसेफसँग क्युबाली संस्थाहरूले सहकार्य गरेका छन् । तर, तीमध्ये कुनै पनि संस्थाले क्युबामा खोप वितरणमा पहल गर्नुपर्ने सुझाव दिएनन् । बरु क्युबाली खोप विज्ञहरूले पोलियो उन्मूलन गर्न विश्वव्यापी पहलका निम्ति आह्वान गरेका छन् ।
क्युबाको उत्पादन क्षमतालाई विश्व स्वास्थ्य संगठनले सब–सहारा क्षेत्रको ‘मेनेन्जाइटिस क्षेत्र’का लागि आवश्यक खोप तत्काल आपूर्ति गर्न प्रयोग गरेको छ ।
दोस्रो पूर्वानुमान : महामारी रोकथाम र नियन्त्रण गर्न क्युबा ‘असफल’ भएको छ । पश्चिमी गोलार्धमा यति व्यापकरूपमा कोभिड–१९ को संकट भए पनि क्युबा एक्लैलाई मात्र ‘असफल राज्य’ को बिल्ला लगाउनु अनौठो छ ।
खासमा क्युबामा हालै फैलिएको संक्रमणले त्यहाँका केही भागको स्वास्थ्य प्रणालीलाई विफल बनाउने खतरा थियो । तथापि, संसारका अन्य कुनै पनि देशको तुलनामा क्युबाले निकै प्रभावकारी ढंगले महामारी नियन्त्रण गर्यो ।
महामारी नियन्त्रणमा क्युबाको दाँजोमा निकै कमजोर बनेका अन्य देशलाई भने अमेरिकाले विरोध गर्न आवश्यक ठानेन । संसारका सबै देशका निम्ति आज कोभिड–१९ का नयाँ प्रजाति चुनौती बनेको छ ।
नयाँ प्रजातिका कारण संक्रमण बढिरहेको छ । क्युबा त्यसको अपवाद बनेन । तथापि, विगत ६ दशकदेखि अमेरिकाले थोपरेको कठिन वित्तीय, व्यापार र आर्थिक नाकाबन्दीबीच महामारीको सामना गरिरहेको हुनाले क्युबालाई अन्य देशभन्दा फरक बनाएको छ ।
ट्रम्प सरकारले क्युबाविरूद्ध २४३ वटा थप प्रतिबन्ध थोपर्यो । तपाईंको सरकारले पनि यसलाई निरन्तरता दिएको छ ।
ती प्रतिबन्ध नाकाबन्दीमा रहेका केही छिद्रसमेत टाल्ने मनसायले थोपरिएका हुन् । ती प्रतिबन्धका कारण क्युबाको राजस्व घटेको छ जसले अत्यावश्यक चिकित्सकीय सामग्री, खाद्यान्न आदि खरिद गर्न सरकारसँग पैसा भएन । क्युबामा त्यस्ता अत्यावश्यक सामग्री आइपुग्न विलम्ब भयो ।
तेस्रो पूर्वानुमान : क्युबामा कोभिड–१९ को खोप पुर्याउने एउटै बाटो भनेको अमेरिकी आपूर्ति प्रणाली मात्र हो । यो तर्कले क्युबाबारे यो कुरा नकारेको छ– क्युबामा २ करोडभन्दा बढी जनसंख्या छ ।
त्यसमध्ये झन्डै ३०।२ प्रतिशत क्युबालीहरूले क्युबामा विकास भएको खोप नै दुवै मात्रा लगाइसकेका छन् । जुलाई ९ मा क्युबाको औषधि व्यवस्था विभागले अब्दाला नामको खोपलाई आकस्मिक प्रयोगका निम्ति अनुमति प्रदान गर्यो ।
तेस्रो चरणको क्लिनिकल परीक्षणमा सो खोपको प्रभावकारिता ९२ प्रतिशत थियो ।
त्यस्तै अर्को खोप सोबेरानाले ९१ प्रतिशत प्रभावकारिता प्रमाणित गर्यो । त्यो खोप पनि प्रयोग अनुमति पाउने अवस्थामा पुगिसकेको छ । आजकै गतिमा खोप अभियान अघि बढाउने हो भने आगामी अक्टोबर वा नोभेम्बर महिनाभित्र क्युबाका सबै जनताले खोप लगाइसक्नेछन् ।
खोप उत्पादनको निम्ति आवश्यक कच्चा पदार्थ निर्यातलगायत कठिनाइ छन् र त्यस्ता कठिनाइ मुख्यतः अमेरिकी नाकाबन्दीले निम्त्याएको वित्तीय संकुचनका कारण भइरहेको छ । अमेरिकाले वास्तवमै क्युबाली जनतालाई मद्दत गर्न चाहेको हो भने उसले ट्रम्प सरकारले थोपरेका २४३ वटा निषेधलाई तत्कालै कलमको एक धर्सोले खारेज गर्नुपर्छ ।
अमेरिकी कांग्रेसले हरेक वर्ष संयुक्त राष्ट्रसंघीय निर्णयले माग गरेअनुसार सम्पूर्णतः नाकाबन्दी हटाउन सक्छ । संयुक्त राष्ट्रसंघीय महासभामा हरेक वर्ष अधिकांश देशले क्युबामाथिको नाकाबन्दीको विपक्षमा मतदान गर्दै आएका छन् ।
महामारीका क्रममा विज्ञानले हामी सबैलाई एकै ठाउँमा उभिन बाटो देखाएको थियो । हामी सबै जना रोगको कारणले मात्र डराएका थिएनौँ बरु जलवायु परिवर्तनले निम्त्याएका अभूतपूर्व संकट पनि ठूलो चुनौती बनेको थियो ।
यस्तो परिस्थितिमा सबै देशको स्वास्थ्य प्रणालीलाई सहायताको खाँचो छ । कसैलाई पनि न्यूनांकन गरिनुहुन्न । बरु मध्यम तथा न्यून आयका देशहरूमा विश्वव्यापी रूपमै खोपको सघन आवश्यकता बल्झिरहेको कुरालाई ध्यानमा राखेर समयको मागअनुसार सहकार्यलाई अघि बढाइनुपर्छ । केही देशहरूले क्युबाली खोप प्रयोग गर्न माग गरिसकेका छन् ।
खोप समताको निम्ति क्युबाको यो योगदानलाई बाइडेन सरकारले लत्याउने छैन, बरु कदर गर्नेछ भन्ने हाम्रो विश्वास छ । (अमेरिकी कानुन) क्युबाली प्रजातन्त्र ऐन १९९२ ले ‘कुनै पनि जैविक प्राविधिक वस्तु उत्पादनको निम्ति प्रयोग गरिने पदार्थ अमेरिकाबाट क्युबामा निर्यात गर्न’स्पष्टतस् रोक लगाएको छ ।
जैविक प्राविधिक वस्तुअन्तर्गत खोप पनि समावेश छ । क्युबा–अमेरिका सहकार्यले के गर्न सक्छ भन्ने कुराको झलक त हामीले पश्चिम अफ्रिकामा इबोला भाइरस महामारी (सन् २०१३–२०१६) सम्म फैलिँदा देखेका थियौँ ।
त्यति बेला दुवै देशले रोग फैलिन रोक्न र मानिसको जीवन रक्षा गर्न मिलेर काम गरेका थिए । निःसन्देह अमेरिका र क्युबा सरकार विभिन्न प्रमुख विषयहरूमा फरक मत राख्छन् । तर, प्रमुख प्रश्न क्युबा र अमेरिकाका लागि मात्र होइन, सम्पूर्णतः मानवजातिका लागि देशहरूले एकआपसमा सम्मान गर्दै आपसी अस्तित्व स्विकार्दै सहकार्य गर्नसक्छ वा सक्दैन भन्ने हो ।
राष्ट्रपति बाइडेन, तपार्इं यदि सही दिशामा हिँड्ने हो र क्युबामा रहेका अधिकांश क्युबाली जनताको चाहनालाई तपार्इंले ध्यान दिने हो भने तपाईंले धेरै काम गर्न सक्नुहुन्छ ।
त्यसका निम्ति तपाईंले क्युबाको सार्वजनिक स्वास्थ्य प्रणालीलाई बेवास्ता गर्ने वा कमजोर बनाउने मात्र होइन, बरु क्युबाका उपलब्धिको पनि सम्मान गर्न सक्नुपर्छ । कोभिड–१९ महामारीले निम्त्याएका चुनौतीको सामना गर्न द्वन्द्वको होइन, थप सहकार्यको खाँचो छ ।
इतिहासले यसको मूल्यांकन गर्नेछ ।
पत्रमा हस्ताक्षर गर्नेहरू
मेदा मौरी पेरेज, बायोक्युबाफर्माका उपसभापति
लुई हेरेरा मार्टिनेज, बायोक्युबाफर्माका सभापतिका सल्लाहकार तथा जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी सेन्टरका पूर्वनिर्देशक
अगस्टिन लागे, बायोक्युबाफार्मका सभापतिका सल्लाहकार र मलेक्युलर इम्युनोलोजी सेन्टर ९सीआईएम० का पूर्वनिर्देशक
भिसेन्टे भेरेज बेनकोमो, फिनले खोप प्रतिष्ठानका निर्देशक
मिट्चेल भाल्देस सोसा, क्युबाली न्युरोविज्ञान केन्द्रका निर्देशक
तानिया क्रोमबेट, सीआईएम क्लिनिकल अध्ययनका निर्देशक
लगायत ९ हजारभन्दा बढी क्युबाली वैज्ञानिक, चिकित्सक र सर्वसाधारण नागरिक
स्रोत : अल जजिरा
नेपाली अनुवाद : मनीषा,अनलाइन मजदुरबाट























































































































































































