अर्थ मन्त्रालयले कोरोना बिमाबापत पीडितलाई दिनुपर्ने रकम नदिने संकेत गरेको छ । ठूलो रकम भुक्तानी गर्नुपर्ने भएपछि मन्त्रालय भुक्तानी दिनबाट पछि हट्ने संकेत गरेको हो ।
‘अहिलेसम्म ११ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी दिनुपर्ने दायित्व आइपरेको छ,’ अर्थमन्त्री जनार्दन शर्माले भने, ‘अझै दाबी आउने क्रम जारी छ । दिन प्रतिदिन दाबी बढ्न सक्ने भएकाले के गर्ने भन्ने विषयमा अर्थले कुनै निर्णय गरेको छैन् ।’
ठूलो रकम भएकाले कसरी भुक्तानी दिने भन्नेमा छलफल चलिरहेको उनको भनाइ छ ।
‘त्यति बेला कुन अवस्था हेरेर बिमा गरियो, त्यसबारे पनि छलफल भइरहेको छ,’ उनले भने । अर्थ मन्त्रालयमा आइतबारसम्म ११ अर्ब रुपैयाँको भुक्तानी दाबी आएको छ ।













































































































































































































