४ श्रावण २०८३, सोमबार

 

कालिका मन्दिरको जंगलमा १ सय ६० प्रजातिका वनस्पति पहिचान

बागलुङस्थित कालिका भगवती मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु गरेको हो ।

परिसरका सयौं वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदै छ । हालसम्म १ सय ६० प्रजातिका रूख तथा वनस्पतिको पहिचान भइसकेको त्यहाँ अध्ययन गरिरहेको वनस्पतिविद्को टोलीले जनाएको छ । मन्दिरमा करिब ४ सय वर्ष पुराना रूख पाइएका छन् ।

बोटबिरुवा अध्ययन गर्दा केही महत्त्वपूर्ण वनस्पतिसमेत फेला परेको टोलीमा सहभागी प्रवीण भण्डारीले बताए । उनी चीनमा वनविज्ञान विषयमा पीएचडी अध्ययन गरिरहेका छन् ।

‘जैविक विविधता र वनस्पतिको अभिलेखीकरण सँगै मन्दिर परिसरको जंगलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ,’ उनले भने, ‘हामी अध्ययनको क्रममा छौं, मन्दिरको जंगलमा महत्त्वपूर्ण वनस्पति भुइँ–सुनाखरी फेला परेको छ,’ उनले भने । जंगलमा सर्पगन्धालगायत औषधीय गुण बोकेका वनस्पतिसमेत पाइएका छन् ।

मन्दिरको अधिकांश भूभाग जंगलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष राजु खड्काले बताए । ‘मन्दिरको आकर्षणको रूपमा रहेको जंगललाई संरक्षण गर्न त्यहाँ रहेका वनस्पतिको पहिचान थालिएको हो,’ उनले भने ।

व्यवस्थापन समितिले मन्दिरमा दैनिक पूजाअर्चनाको प्रबन्ध मिलाउनुका साथै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रयासमा काम अघि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung