१५ बैशाख २०८१, शनिबार

 

लाँकुरी भन्ज्याङमा अग्नि र आस्ट्रेक ग्रुपको पाँचतारे होटल

अग्नि ग्रुप र आस्ट्रेक ग्रुपको संयुक्त लगानीमा ललितपुरको लाकुरीभन्ज्याङमा पाँचतारे होटल ‘दी ट्यारेसेस रिसोर्ट एन्ड स्पा’सञ्चालन गरिएको छ । माउन्ट मोनास्ट्री प्रालिद्वारा निर्माण गरिएको होटलमा १ अर्ब रुपैयाँको लगानी रहेको सञ्चालकमध्येका टासी शेर्पाले जानकारी दिए ।

पाँच वर्षअघि निर्माण थालिएको रिसोर्टको काम एक वर्षअघि नै सकिए पनि कोभिड महामारीका कारण सञ्चालनमा आउन सकेको थिएन ।

कोभिडको संक्रमणदर कम हुँदै गएको र विदेशी पर्यटकलाई नेपाल आउन सहज भएसँगै होटल सञ्चालनमा ल्याउन लागिएको शेर्पाले बताए । होटल २८ रोपनी क्षेत्रफलमा फैलिएको छ भने त्यस आसपासको जंगल ८०० रोपनी छ।

जंगल पनि सोही होटलले भाडामा लिएको छ । ४६ वटा कोठा रहेको होटलले पहिलो चरणमा ३० वटा मात्र सञ्चालनमा ल्याउँदै छ । बिस्तारै अवस्था सामान्य हुँदै गएपछि पूरै कोठा सञ्चालनमा ल्याइने बताइएको छ ।

आस्ट्रेक ग्रुप पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहितको समूहले सञ्चालन गरेको हो । उक्त ग्रुपमा लामो समयदेखि माउन्टेनियरिङ र ट्रेकिङ क्षेत्रमा क्रियाशील व्यवसायीहरू आबद्ध छन् । रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर र ठमेलबाट २३ किलोमिटर दूरीमा छ ।

यसअघि त्यस लाँकुरी भन्ज्याङ क्षेत्रमा सुविधासम्पन्न होटल थिएनन् । जंगलको बीचमा होटल बनाउनुको कारण आफूहरूको मुख्य ‘टार्गेट’ विभिन्न संघस‌ंस्थाको बैठक र सेमिनार नै रहेको सञ्चालकरले बताएका छन ।

काठमाडौं उपत्यकाको दक्षिणपूर्वी भागमा २०१० मिटरको उचाइमा रहेको रिसोर्टबाट हिमालका मनमोहक दृश्य नियाल्न सकिने बताइएको छ । प्रेसिडेन्टल, स्टान्डर र डिलक्स रुम रहेको रिसोर्टमा रेस्टुराँ, बैंक्युट हल, स्पा, जिमका साथै स्विमिङ पुल पनि छ ।

प्रतिक्रिया दिनुहोस्