६ जेष्ठ २०८१, आईतवार

 

राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरीको बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी जारी गर्न लागेको सूचनामा उल्लेख छ ।

९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख ६ र ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १ मा परिपक्व हुनेछ ।

यसअघि बैंकले गत असोज २५ गते १३ अर्ब २५ करोड बराबरको ट्रेजरी जारी गरेको थियो । ट्रेजरीको बोलकबोल अनलाइनमार्फत खुला हुनेछ ।

आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई बैंकले ट्रेजरी बिल जारी गर्नेछ ।

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन ९एक वर्षभन्दा कम० अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ ।

प्रतिक्रिया दिनुहोस्