२ कार्तिक २०८३, आईतवार

 

ओमिक्रोन भेरिएन्टसँग जुध्न बागलुङमा तयारी कस्तो ?

डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ओमिक्रोन संक्रमण फेला परेको पुष्टि गरेको हो ।

मंसिर ३ गते नयाँ भेरियन्ट भेटिएको देश हुँदै आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेटिएको मन्त्रालयले जनाएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिए पछि सरकारले विभिन्न देशबाट भित्रिने यात्रुलाई कडाइ गर्न थालेको छ । नयाँ भेरियन्टको उपचार विधि कोरोनाका पुरानै भेरियन्टको जस्तो रहेको विज्ञहरूको भनाइ छ ।

कोरोनाको नयाँ भेरिएन्टसँग सामना गर्न धौलागिरि अस्पताल बागलुङले पनि तयारी अघि बढाइएको जनाएको छ ।‘जिल्लामा कोरोना संक्रमित बिरामी आए उपचार गर्न हामी तयार भएर बसेका छौं,’ धौलागिरि अस्पतालका जनरल फिजिसियन पराग गजुरेल भने ।

सरकारले ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेसँगै जिल्लाजिल्लामा पनि तयारी थाल्न आवश्यक देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरिसकेको छ । हालै मात्र बागलुङ नगरपालिकाभित्र कोरोनाबाट एकैचोटि २५ विद्यार्थी संक्रमित भएकामा नयाँ भेरिएन्ट फैलिन नदिन आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

खुला सिमानाका कारण भारतबाट नयाँ भेरिएन्ट नेपाल भित्रिए बागलुङमा पिन सहजै आइपुग्ने भएकाले सतर्कता अपनाउन भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले बताए ।

यो भेरियन्ट बढी संक्रामक रहेकाले सबै उमेरसमूहका व्यक्तिलाई असर पार्ने बताइएको छ। अहिले जिल्लाका गाउँगाउँमा कोरोनाविरुद्धको भ्याक्सिन सबै उमेरसमूहलाई लगाउने काम भइरहेको छ ।

बागलुङमा कोभिसिल्ड, भेरोसिल्ड, जोन्सन एन्ड जोन्सन र फाइजर खोप लगाइएको छ । बागलुङमा कोभिसिल्ड ५३ हजार १ सय २०, भेरासेल १ लाख ६० हजार ५ सय ९४, जोन्सन १२ हजार ६० र फाइजर १ हजार २ गरी २ लाख २६ हजार ७ सय ८६ डोज खोप लगाइसकिएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

धौलागिरि अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि २५ शय्याको आइसोलेसन बेड, भेन्टिलेटर र अक्सिजन उपलब्ध रहे पनि बिरामीको संख्या धेरै भए यसले थेग्न सक्दैन ।

यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ । जिल्लामा अहिलेसम्म २७ हजार ९ सय ५७ जनामा कोरोना परीक्षण गरिएकोमा ७ हजार ८ सय ४९ जना संक्रमित पाइँदा ७ हजार ७ सय ३५ जना निको भइसकेका छन् ।

अहिले ४२ जना सक्रिय संक्रमित छन् । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung