५ जेष्ठ २०८१, शनिबार

 

माओवादी स्थायी कमिटी बैठकले बढायाे प्रतिनिधिको संख्या

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ ।

प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

महरका अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौंमा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्