७ जेष्ठ २०८१, सोमबार

 

सिरहाका एसपीको जिम्मेवारी खोसियो

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेर उनको ठाउँमा प्रहरी उपरीक्षक अर्जुन तिम्सिनालाई पठाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले पाण्डेको हेडक्वाटरमा काज सरुवा भएको जानकारी दिए। नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवसँगको विवादले पाण्डेको सरुवा भएको बुझिएको छ।

यादवले आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका थिए।

पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले फर्काएको खुलेको छ। कांग्रेस सिरहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताएका छन्।

यादवले प्रहरीले पक्राउ गरेका दुई अभियुक्तलाई समातेपछि छोड्न आफूलाई दबाब दिएको पाण्डेले बताएका छन्। उनले आफू यादवको घरमा गएको भने अस्वीकार गरेका छन्। एसपी पाण्डे गत असार ८ असार गते सिरहा सरुवा भएका थिए।

प्रतिक्रिया दिनुहोस्