७ जेष्ठ २०८१, सोमबार

 

एमबीबीएस विद्यार्थीको समस्याबारे के भन्छन् गृहमन्त्री खाँड ?

गृहमन्त्री बालकृष्ण खाणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्।

गृहमन्त्री खाणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरू गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए।

गृहमन्त्री खाणले विद्यार्थी संगठनका नेताहरूलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए। उनले संविधान र कानुनको परिधिभित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए।

विद्यार्थीहरूले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरूद्ध आन्दोलन गरिरहेका छन्।

गृहमन्त्री खाणले भने, ‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरू छन्, ती समस्याहरूलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रूपमा सरकारले अनुसन्धान गर्दछ। र दोषीलाई चाहिँ हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ। त्यही अनुसार कारबाही हुन्छ। यस विषयमा विद्यार्थीहरूलाई धेरै कठिन छ। र, सरकारले निर्णय गर्दा आफ्नो प्रक्रिया थालनी गर्दा आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ। पूर्वाग्रह, आग्रहभन्दा माथि उठेर काम हुन्छ। विद्यार्थी संगठनहरू पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन। आवश्यक पर्‍यो भने पुनः शिक्षा मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गरिन्छ।’

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाण समक्ष आग्रह गरे। उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरूले पढन पाउने अवस्था गुम्ने चेतावनी पनि दिए।

शिक्षामन्त्री पौडेलले भने, ‘कलेज सञ्चालकहरूको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सृजना भयो। यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐनविपरीत मेडिकल सञ्चालकहरूले गरिरहेका छन्। उनीहरूले मेडिकल कलेज पढ्ने विद्यार्थीहरूमाथि दादागिरी देखाइरहेका छन्। उनीहरूमाथि तत्काल कारबाही गर्नुहुन्छ। अन्यथा कुनै पनि विद्यार्थीहरूले मेडिकल कलेज पढ्न सक्ने अवस्था हुँदैन।’

कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले विद्यार्थीहरूमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरूलाई तत्काल कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरूलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरूमाथि तत्काल कारबाही गर्न सरकारलाई दबाब दिए।

अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरूमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराइन्।

उनले निजी मेडिकल कलेजहरूको विद्यार्थीमाथिको दमन आफूहरूलाई स्वीकार्य नहुने चेतावनी समेत दिइन्।

अध्यक्ष सिंहले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा संविधानमा व्यवस्था भए पनि सोही अनुसारको व्यवस्था सरकारले गर्न नसकेको भन्दै आपत्ति समेत जनाइन्।

प्रतिक्रिया दिनुहोस्