आमाहरुको सशक्तिकरणका लागि जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडास्तरीय आमा समूहमार्फत गाउँ घरमा विवाह, व्रतबन्ध लगायतका परम्परागत सामाजिक कामहरुका लागि आवश्यक पर्ने भाँडाकुडा वितरण गरिएको हो ।
काठेखोलाको तीन लाख रुपैयाँ सहयोगमा आमा समूहमार्फत सामग्री खरिद गरेर साविकका वडामा रहेका समूहलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माले बताए । पुलाउ रोख्ने भाँडा ४ थान, कुर्ची १२६ थान, टेवल ८ थान, कराई एक थान, ग्यास सेट दुई थान, थर्मस दुई थान र थाल, कचौरा, चम्चा गिलास लगायतका सामग्री वितरण गरेको शर्माले जानकारी दिए ।
‘साविक वडामा रहेको समूहले माग गरेका सामग्रीहरु उपलव्ध गराईएको हो’ उपभोक्ता समितिकी अध्यक्ष हुमकुमारी गौतमले भनिन् ‘यी सामग्रीको उपयोग गरेर समुहले आय आर्जन समेत गर्न सक्छन् ।’
गाउँ घरमा हुने हरेक क्रियाकलापमा आवश्यक सामग्री महंगो भाडामा लिनुपर्ने बाध्यताको अन्त्यका लागि सामग्री सहयोग गरेको वडा अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा बोल्दै शर्माले स्थानीय सरकारले उपलव्ध गराएको सुविधाको उपभोग र सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इञ्चार्ज खिम बहादुर कार्कीले स्थानीय तह निर्वाचनका लागि तयार हुन सबैलाई आग्रह गरे ।
एमाले काठेखोला गाउँ कमिटि सचिवालय सदस्य राम प्रसाद शर्मा, वडाका अध्यक्ष नारायणदत्त रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।उपभोक्ता समितिकी अध्यक्ष हुमकुमारी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सूर्यबहादुर थापा र सञ्चालन भविकला थापाले गरेका थिए ।













































































































































































































