२७ बैशाख २०८१, बिहीबार

 

भीमसेन ढुङ्गा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र

बागलुङमा निर्माणाधीन भीमसेन ढुङ्गा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन ।

चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो ।

मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताए ।

“तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ”, उनले भने, “बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो ।”

गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुङ्गादेखि घुम्टे जोड्ने झण्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण सुरु गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गालाई समेटट्छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ ।

सुरुको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा दशरदश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । सुरुको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ ।

त्यसयता उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि दुई वर्षसम्म काम भएको अध्यक्ष थापाले बताए ।उनका अनुसार प्रदेश र सङ्घ सरकारको पर्यटन मन्त्रालय मार्फत हालसम्म आएको तीस लाख बजेटबाट राम्चेढुङ्गादेखि गल्लाको घाँटीसम्म करिब तीन किमी पदमार्ग बनेको छ ।

“अफ्ठेरो र कठिन भूगोलका बावजुद पनि गत वर्ष वनमै बास बसेर मजदुरले पदमार्ग बनाएका थिए”, अध्यक्ष थापाले भने, “स्थानीय सीप र प्रविधिको प्रयोगबाट मौलिक ढङ्गले पदमार्ग निर्माण भइरहेको छ ।” दोस्रो खण्डमा अझै दुई किमी जति पदमार्ग बनाउन बाँकी छ ।

त्यसका लागि थप ४० लाख बजेट चाहिने निर्माण समितिले जनाएको छ । पहिलो खण्डमा भने चार किमीमा कामै हुन सकेको छैन । पदमार्गको सिङ्गो योजनामा एक करोड बढी खर्च लाग्ने अनुमान छ । गलकोट नगरपालिका र वडाले भने हालसम्म पदमार्गका लागि कुनै सहयोग गरेको छैन ।

धेरैपटक निवेदन लिएर बजेट मागका लागि स्थानीय सरकारसम्म धाउँदा कोरोनालाई देखाएर टार्ने गरिएको निर्माण समितिको गुनासो छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने पदमार्गकै लागि भनेर छुट्टै बजेट माग नभएको उल्लेख गरे ।

“राम्चेढुङ्गाको पर्यटन विकास नगरको प्राथमिकतामा छ, बजेट पनि दिएका छौँ”, उहाँले भन्नुभयो, “पदमार्गको योजना र बजेटको प्रस्ताव भने हामीकहाँ आएजस्तो लाग्दैन ।” नगरप्रमुख गैरेले पर्यटनको एकीकृत विकास योजना नबनेसम्म टुक्रे काम र बजेटले सोचेजस्तो परिणाम दिन नसक्ने बताए ।

पर्यटनका योजना पार्न स्थानीयवासी पनि चनाखो र जागरुक बन्नुपर्ने उनको धारणा छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुङ्गासहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धन र ग्रामिण पर्यटनको उत्थानमा टेवा पुग्ने बताए । त्यस पदमार्गले घुम्टेसम्मको दूरी पनि छोट्याउने उनको भनाइ छ । पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध गर्नुपर्ने उपाध्यक्ष थापाले उल्लेख गरे ।

गण्डकी प्रदेशका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत घुम्टे गलकोट र ताराखोला गाउँपालिकाको सीमामा अवस्थित जिल्लाकै अग्लोमध्येको लेक हो ।

तीनहजार एक सय १० मिटरको उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकका लागि आकर्षक गन्तव्य हो, घुम्टे । त्यहाँ रहेको सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मकोकाङ्क्षा पूरा हुने लोकविश्वास छ । वर्षेनि नयाँ वर्ष र वैशाखे पूर्णिमामा घुम्टेमा ठूलो मेला लाग्छ ।

प्रतिक्रिया दिनुहोस्