२७ बैशाख २०८१, बिहीबार

 

यसरी सफल भयो जापानीज मियाहाराले देखेको केवलकारको सपना

पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मियाहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव जितेनन् । उनको चुनावी योजना शुक्रबारदेखि सार्थक भएको छ ।

फेवातालको मुहानतर्फ पामे जाने बाटोमा पर्छ, सेदी । अब खपौंदीदेखि नै सेदीबाट सराङकोट केवलकार आउजाउ गरेको देख्न सकिन्छ । अन्नपूर्ण केवलकार कम्पनीका निर्देशक रहेका त्रिपाठीले भने, ‘केवलकार आजदेखि संचालनमा ल्याइयो, तर दुखको कुरा, यसको परिकल्पनाकार ताकासी २ वर्षअघि नै पेटको क्यान्सर भएर बित्नुभयो ।’

ताकासी खासमा घुम्नका लागि नेपाल आएका थिए । नेपालको प्रकृति र संस्कृतिले उनलाई लोभ्यायो । उनी नेपाल बस्न थाले । सुरुमा ताकासी नेपाली कांग्रेसका नेता गणेशमानसिंहका घरमा बसेको त्रिपाठीले बताए । नेपालमा उनलाई ट्रेकिङ एजेन्सी चलाउन मन लाग्यो । केही नेपाली युवाको साथ लिएर ट्रान्स हिमालय ट्रेकिङ एण्ड टुर्स कम्पनी खोले ।

नेपालमा बस्दाबस्दै ताकासीले नेपाली विवाह गरे । छोरीको बाउ बने । नेपाली नागरिकता लिए । उनले सगरमाथा आधार शिविरमा होटल एभरेष्ट भ्यु खोले । उक्त होटल संसारकै अग्गो स्थानमा रहेका होटल मध्यमा पर्ने त्रिपाठीले बताए ।
ताकासीले पोखराको सराङकोटमा पनि होटल खोलेका छन् । नेपाली व्यवसायीसँग मिलेर होटल अन्नपूर्ण भ्यू अहिले संचालनमा छ ।

ताकासी र त्रिपाठीको चिनाजानी जापानमै भएको थियो । पहिलो संविधान सभा चुनावमा ताकासी प्रचार अभियानका क्रममा जापान पुगेका थिए । जापानमा रहेका नेपालीसँग सहयोग मागिरहेका थिए । त्यतिबेला त्रिपाठी जापानमा रेष्टुरेण्ट चलाउँथे । जापान जानुअघि त्रिपाठीको घान्द्रुक र अन्नपूर्ण आधार शिविर ९एबीसी०मा होटल थियो । अहिले उनको होटल स्थानीयले नै चलाउँछन् । चुनावमा ताकासीलाई सघाउन त्रिपाठी नेपाल फर्किए ।

‘मेरो साथी नेपालमा चुनाव लडेछ, भेटौं भनेर मेरो जापानी साथीले भन्यो’, त्रिपाठीले भने, ‘त्यहाँ भेटेदेखि मैले नेपाल आएर ताकासीलाई भोट दिए ।’ उनले पोखरामा अरुलाई पनि मत दिन आग्रह गरे । ताकासीको चुनावी अभियान पोखरामा चलाए ।
ताकासीले चुनाव हारे । उनको घोषणा पत्र कसैले पढेनन् । पर्यटकीय नगरी पोखरामा साहसिक खेलका अनेक माध्यम छन् तर केवलकार छैन । त्रिपाठीले ताकासीसँग सल्लाह लिए । ‘घोषणा पत्रमा लेखिएको केवलकारका योजना हामी अघि बढाऊँ कि ।’

त्रिपाठीको योजनामा ताकासीले सहमति जनाए । जापानको रेष्टुरेण्ट व्यवसाय छाडेर त्रिपाठी नेपालमै बस्न थालेका थिए । उनले केवलकार अघि बढाउन टिम बनाउन थाले । पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा हाउजिङ र घरजग्गा कारोबार गरिरहेका व्यवसायी कालु गुरुङलाई केवलकार योजना सुनाए ।

त्रिपाठीको योजना गुरुङले मन पराए । केवलकार संचालन गर्न गुरुङ अध्यक्ष भएर अन्नपूर्ण केवलकार कम्पनी स्थापना गरे । केवलकार बनाउन आवश्यक जग्गा खरिद गरे । मन्त्रिपरिषदबाट वन क्षेत्रको भोगाधिकार लिए । करिब ८ बर्षअघि केवलकारको संरचना बन्न थाल्यो ।

अन्नपूर्ण केवलकारको लागत शुरुमा ८० करोड मात्र थियो । त्यतिबेला ३०,३० जना अट्ने दुइटा डिब्बा मात्र राख्ने योजना थियो । एउटा माथि जाने, अर्को तल झर्ने ।‘हामीले बस जस्तो केवलकार राख्न खोजेका थियौं’, ‘अहिलेको प्रविधी अनुसार भनेर ८ जना मात्र अट्ने १६ वटा डिब्बा राख्नेगरी योजना परिवर्तन ग¥यौं ।’

केवलकारसँगै सेदी र सराङकोटमा रेष्टुरेण्टको संरचना थपियो । केवलकार चढ्ने र ओर्लनै दुबै ठाउँमा रेष्टुरेण्ट बनेका छन् । केही संरचना अझै निर्माणाधीन छन् । केवलकारको योजना परिवर्तन भएपछि समयमा केवलकार बनेन । त्यसमाथि लगानी जुटाउनेदेखि केवलकारका सामाग्री जापानबाट मगाउँदा आइपर्ने झण्झट । त्रिपाठीले भने, ‘समयमा केवलकार बनाउन सकेको भए कोरोना भाइरस आउनुअघि नै हामीले केवलकार चलाइसक्थ्यौं ।’

कोरोना महामारी आएपछि २ वर्ष निर्माणको काम प्रभावित भएको कम्पनीले बताएको छ । लकडाउनका कारण जापानबाट सामान र प्राविधिक ल्याउन नसक्दा ढिलाई हुन पुगेको कम्पनीका अध्यक्ष गुरुङले बताए । ‘ढिलै भएपनि पोखरामा केवलकार संचालनमा ल्याउन पाउँदा खुशी लागेको छ,’ उनले भने ।

कम्पनीका अनुसार केवलकार संचालन गर्न २ अर्ब बढी खर्च भएको छ । यसमा नेपाली व्यवसायी र केही जापानी लगानी भएको निर्देशक त्रिपाठीले बताए । केवलकारको कुल क्षमता ३८ डिब्बा छ । अहिले सामान बोक्न एउटा र पर्यटक घुमाउन १७ डिब्बा छन् । अब ४ वटा डिब्बा थप्ने तयारी रहेको उनको भनाई छ ।

पर्यटकको चाप बढ्यो भने डिब्बा थप्ने कम्पनीको योजना छ । उनीहरुले कोरोना महामारी आउनुअघि जस्तै पोखराको पर्यटन क्षेत्र चलायमान हुने आशा राखेका छन् । ‘कोरोना भाइरस आउनुअघि जस्तै पोखरामा पर्यटक आउन थाले पनि हामी डिब्बा थप्छौं,’ त्रिपाठीले भने, ‘हाम्रो उदेश्य पुरा भएको छ, नाफा त विस्तारै कमाउँला नि ।’

अन्नपूर्ण केवलकार संचालनमा आएसँगै नेपालमा केवलकार कम्पनीको संख्या चारवटा पुगेको छ । नेपालकै पहिलो मनाकामना केवलकार, दोस्रो चन्द्रागिरी केवलकार र तेस्रो कालिञ्चोक केवलकार रहेका छन् ।

सेदीदेखि सराङकोटसम्म २।१६ किलोमिटर मात्र केवलकार चल्छ । अन्नपूर्ण केवलकारले उक्त दूरी १० मिनेट मै पार गर्छ । फेवाताल, विश्व शान्ति स्तुप र पोखरा शहर हेर्दाहेर्दै केवलकार सराङकोट पुग्छ । जहाँबाट अन्नपूर्ण श्रृङ्खलाका सम्पूर्ण हिमाल छ्याङ्गै देखिन्छ ।

अन्नपूर्ण केवलकारले सेदीदेखि सराङकोट दुइतर्फी आउजाउ गर्न टिकट शुल्क ७ सय रुपैया तोकेको छ । केवलकार संचालनमा आएको पहिलो दिनमै १ हजार ३ सय बढीले केवलकार चढेका छन् । कम्पनीले टिकटमै प्रति यात्रु ५ लाख रुपैयाँ बराबरको बिमा गरिदिएको छ ।

पहिलो दिनमै केवलकार चढ्न उर्लिएको भिडले संंचालकहरु उत्साही छन् ।केवलकारको सराङकोट स्टेसनमा रेष्टुरेण्टसहित साहसिक खेलहरु रक क्लाइम्बिङ, जिपलाइनलगायतका खेल संचालन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्