२० बैशाख २०८१, बिहीबार

 

ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

बागलुङ – नेपाल टेलिकमले पर्यटकिय गन्तव्य ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोवाईल सेवा सञ्चालनमा ल्याएको छ ।

विसं २०७५ वैशाखमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधी सहितको उपकरण जडान गरि उच्च गतिको ईन्टरनेट मोवाईल डाटा र गुणस्तरिय एचडी कल सुविधाको भिओ एलटिई सहितको फोरजी सेवा सञ्चालनमा ल्याईएको बताए ।

शर्माले भनें भौगोलिक विकटता र दुरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरि यो सेवा शुभारम्भ गरेका हौं यसबाट स्थानीयबासी र त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुनेछन ।

यस भन्दा पहिला उक्त टावरमा विद्युत नहुँदा सोलार सेट मार्फत टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रोसँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो अब भनें विद्युत जडान भए सँगै उक्त समस्या हटेको छ ।

ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनासँगको समन्वय, जनप्रतिनिधी, त्यहाँ रहेको नेपाली सेना र स्थानीयबासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पुराईएको छ । विद्युत पुराउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो ।

बागलुङ सदमुकामदेखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरि आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका वडा नं ९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत,

नबिगाउँ, भण्डारी गाउँसँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुना बहादुर घर्ती मगरले जानकारी दिए ।

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाईमा अवस्थित पर्यटकिय स्थल ढोरपाटन उपत्यकामा मोवाईल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका वडा नं ८ को बोबाङमा रिपिटर स्टेशन राखी माईक्रोवेभ रेडियो लिङ्क मार्फत सेवा सञ्चालन गरिएको छ ।

अब कपिलवस्तु सालझण्डीदेखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङ देखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्षसम्मका भुभागमा मोवाईल सेवा पुगेको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले बताए ।

यस अघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरि तार लाईन टेलिफोन, क्रमश सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो ।

भिस्याट प्रविधिमा भ्वाईसमा सिमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन ।

भौगोलिक विकटता विविध कठिनाईका बाबजुत ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोवाईल सेवालाई स्तरोन्नती र विद्युतीकरण गर्न एक वर्षदेखि गृहकार्य गरिरहेको थियो ।

फोरजी मोवाईल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय भ्वाईस तथा मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपुर्ण ठाउ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त मोवाईल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्