२० बैशाख २०८१, बिहीबार

 

बागलुङमा ३ दिने विज्ञान मेला शुरु

नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)को आयोजनामा सोमबारबाट बागलुङमा विज्ञान मेला शुरु भएको छ । विद्यार्थीहरुमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्दै आएको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस वर्षको विज्ञान मेला बागलुङमा आयोजना गरेको हो ।

बागलुङको विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा आयोजित विज्ञान मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले विज्ञान र प्रविधि क्षेत्रलाई विकास गर्न नेपालको शैक्षिक प्राणाली परिमार्जन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताए । विज्ञानको क्षेत्रमा काम गर्ने अनुसन्धानकर्मीलाई नेपालमै बसेर काम गर्ने वातावरण तयार गर्न सरकारले काम गर्न आवश्यक रहेको समेत पौडेलले बताए ।

नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठानका सचिव प्रध्यापक डाक्टर महेश कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, निवर्तमान अध्यक्ष सुभासचन्द्र राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि प्रत्येक वर्ष विभिन्न स्थानमा विज्ञान मेला आयोजना गर्दै आएको नास्टले यो वर्ष विद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेला बागलुङमा आयोजना गरेको नेपाल विज्ञान तथा प्रविधि, प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रवद्र्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले जानकारी दिनुभयो ।

विज्ञान मेलामा १० विद्यालयले धूवा रहितको स्मार्ट सिटि, पानी तान्ने पम्प, रोवट लगायतका बस्तुहरु बनाएर प्रर्दशनीमा राखोका छन् । तीनदिन सम्मको विज्ञान मेलाबाट उत्कृष्टलाई पुरस्कार प्रदान गरिने छ । नास्टले आयोजना गरेको विज्ञान मेलामा बागलुङका छ, पर्वतका दुई र म्याग्दीका दुई सामुदयिक विद्यालयका विद्यार्थीहरुले सहभागी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्