२६ बैशाख २०८१, बुधबार

 

बागलुङलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न राष्ट्रिय पूँजिपतिलाई आकर्षित गर्नु पर्छ : अध्यक्ष शाह

नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले बागलुङमा पर्यटकको बसाई बढाउन होटल र रेष्टुरेन्टले दिने सेवामा गुणस्तर बढाउनु पर्ने बताए । बागलुङमा पर्यटन तथा होटल व्यवसायीहरुका लागि आयोजित ३ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिमको समापन समारोहका शाहले यस्तो बताएका हुन् ।

अध्यक्ष शाहाले बागलुृङ जिल्लालाई व्यवसायीक र पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने हो भने पूर्वाधार र व्यवस्थापनमा लगानी बढाउनु पर्ने र राष्ट्रिय पूँजिपतिलाई बागलुङमा लगानी गर्ने वातावरण बनाएर आकर्षित गर्नु पर्ने बताए । त्यसको लागि होटल र रेष्टुरेन्टलको आथित्यता,सेवा,खानापान,सुरक्षा र सरसफाईमा विशेष ध्यान दिनु पर्छ’ उनले भने ।

साना ठूला होटल रेष्टुरेन्टको स्तर वृद्धि गर्नुको साथै खर्च गर्न सक्ने पर्यटकलाई बागलुङमा आकर्षित गर्न बागलुङमा ठूलो लगानीको सुविधा सम्पन्न होटल,रिर्सोट,रेष्टुरेन्ट र कफिसप संचालनमा ल्याउनु पर्ने र त्यसको लागि लगानी मैत्री वातावरण बनाउन नगरपालिका तयार भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले बताए ।

बागलुङको होटल तथा रेष्टुरेन्ट व्यवसायको गुणस्तर वृद्धि गर्न, व्यवस्थापकीय ज्ञान प्रदान गर्न र व्यवसायीको मनोबल बढाउन तालिम आयोजना गरिएको नेपाल होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष नरेश कँडेल, बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्का, होटल तथा रेष्ट्रुरेन्ट व्यवसायी संघ बागलुङकी सदस्य तथा होटल हिल भ्युकी प्रोपराइटर ललिता थापा, प्रशिक्षक प्रकाश रेग्मी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा बागलुङ,म्याग्दी र पर्वत जिल्लाका ५० जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमहोटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अर्जुन चोखालको अध्यक्षता, होटल तथा रेष्ट्रुरेन्ट व्यवसायी संघ बागलुङका सदस्य तथा होटल आरतीकी प्रोपराइटर कविता बस्नेतको स्वागत र होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका महासचिव देवेन्द्र लम्सालको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्