बागलुङ – राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विभिन्न दलबाट निर्वाचित व्यक्तिहरु सत्ता र शक्तिका लागि मरिमेट्न प्रवृति गलत भएको बताउनु भएको छ । बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्दै सत्ताभन्दा माथि जनताको हितमा काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउनु भयो ।
तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण सृजना गर्न राजनैतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनु भयो । आगमी निर्वाचनबाट सक्षम जनप्रतिनिधि छनोट गर्ने बेला आएको भन्दै जनताको हितमा लाग्ने नेतृत्व चुन्नुपर्ने बताउनु भयो । लोकतन्त्रमा जनताले खुसीका साथ आफुले इच्छाएको पार्टी र आफ्रूले इच्छाएको उम्मेदवारलाई मतहाल्न पाउनुपर्ने अधिकार रहेको बताउनु भयो ।
उहाले चैतेदशै बागलुङको पहिचानसँग जोडिएको भन्दै धार्मिक पर्यटकहरु आउने महत्वपुण गन्तव्य बनेको बताउनु भयो ।तिमिल्सिनाले धार्मिक पर्यटकको संभावना नेपालमा बढेर गएको बताउदै बागलुङ कालिका, झोलुङ्गे पुल, पञ्चकोट मुक्तिनाथ लगायतका क्षेत्रमा पर्यटकहरुको चाप अत्याधिक रहेको बताउनु भयो ।
धार्मिक पर्यटकका कारण बागलुङमा आर्थिक गतिविधि बढेर गएको बताउनु भयो । कार्यक्रममा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । मेला आयोजक समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता र निशान खड्काको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
चैत्र २४ गतेदेखि संचालन भएको चैत्राष्टमी मेला २८ गतेसम्म संचालन हुने मेला आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिले निर्वतमान अध्यक्ष राजु खड्काले बताए । मेलामा दोहोरी गीत प्रतियोगिता, खुल्ला भलिवल प्रतियोगिता, छेलो लागयतका कार्यक्रम रहेको अध्यक्ष कुमार खड्काले जानकारी दिनु भयो ।
















































































































































































